अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

शान्ति सुरक्षा मुलुक समृद्धिको पहिलो आधार – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको वताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको वताउनुभएको छ । राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रियरुपमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाई छ । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने ठहर गर्नुभएको छ । तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा प्रहरी असफल भयो भने यसले र्पुयाउने चोटलाई सजिलै भरपुर गर्न नसकिने उहाको भनाई छ ।

प्रहरीलाई व्यवसायिक र सुदृढ सङ्गठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहदै आएको प्रधानमन्त्रीको भनाई थियो । संघीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको पनि ओलीले वताउनुभयो । मुलुक संघीयतामा गएसँगै प्रहरी संगठनलाई पनि संघीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक संघीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रहरी आम नागरिकभन्दा पृथक र उदाहरणीय हुनु जरुरी रहेको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल सरकाका गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू