अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

चीन भ्रमण आवश्यकता र विकाशका लागि– मुख्य मन्त्री गुरुङ्ग

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:१८ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो चीन भ्रमण प्रदेशको आवश्यकता र विकाशका लागि हुने वताउनुभएको छ । मंगलबार चीन भ्रमणमा जान लाग्नुभएका मुख्यमन्त्री गुरुङ्गले आज पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण प्रदेशको आवश्यकता र विकाससँग जोडिएको वताउनुभयो ।

चीनको हाइनान प्रान्तको विशेष निमन्त्रणमा चीन जान लाग्नुभएका गुरुङ्गले प्रदेशको काममा जाँदा, प्रदेशको प्रतिनिधित्व गर्दै भ्रमणमा जाँदा केके विषयमा कुरा गर्ने र भ्रमणमा केके हुन्छ भन्ने जनतालाई जानकारी दिने परम्परा बसाल्नुपर्ने वताउनुभयो । मुख्यमन्त्री गुरुङ हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा प्रमुख अतिथि वन्नुहुनेछ । हाइनानका गभर्नरको विशेष निमन्त्रणामा मुख्यमन्त्री गुरुङ चीन जान लाग्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा प्रदेशले स्थापना गर्न लागेको प्राविधिक महाविद्यालयका विषयमा छलफल हुने जानकारी दिनुभयो । हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउनुका साथै हाम्रो प्राथमिकताका क्षेत्रका आयोजनाको सम्झौता गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले वताउनुभयो । आफूले यति सहयोग लेऊ, उति सहयोग लेऊ भन्नुभन्दा पनि प्रदेशले लिएको नीति र लगानीका सम्भावनाका विषयमा भ्रमणका कुराकानी गर्ने गुरुङ्गको भनाई थियो ।

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा पनि चिनियाँ चासो रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यसका विषयमा पनि भ्रमणका क्रममा आवश्यक छलफल गरिने बताउनुभयो । भ्रमणका क्रममा सौर्य उर्जा र जलविद्युतको विषयमा पनि छलफल हुने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू