अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

‘भाग्यले बाँचेकाहरू’ भेट्दा बेलायती सांसद भावुक

बिआरटीनेपाल २०७५ असोज ६ गते ८:२६ मा प्रकाशित

काठमाडौँ, नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितहरुको कथा सुनेर भावुक बनेका छन् ।

२०७२ सालको भूकम्पमा परेर चमत्कारिक रूपमा बाँचेका नेपालीहरूको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरू’का पात्रहरूलाई प्रत्यक्ष रूपमा भेटेका सांसद गेथिन्स उनीहरूको कथा सुनेर भावुक बनेका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमूलक भेट भयो’– उनले भने । 

नेपालको एक साता भ्रमणका लागि गत सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिवारले शनिवार ‘भाग्यले बाँचेकाहरू’का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए । काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसै गरी, काठमाडौँको काभ्रेस्थलमा डेरा गरी बसेको घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।

‘भाग्यले बाँचेकाहरू’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउन्डेसनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई शनिवार काठमाडौँमा सम्मान गरिएको थियो । सांसद गेथिन्सकै पहलमा गतबर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरू’ बेलायतको संसद्मा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसद्मा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय थिथो । नेपालको भूकम्प पीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ ।’, भाग्यले बाँचेकाहरूका निर्देशक गणेश पाण्डेले भने, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’

२०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरूले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो बेलायतको संसद्मा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू