अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

उत्तर कोरिया आफ्नो मुख्य मिसाइल परीक्षण र प्रक्षेपणस्थल बन्द गर्न सहमत

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३९ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न सहमति जनाउनुभएको छ । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः सुरु हुने सम्भावना बढेको छ । प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनबीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति तीनदिने भ्रमणकाक्रममा हाल उत्तर कोरियामा रहनुभएको छ । ‘उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ’–किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले भन्नुभयो । उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायीरुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ । किमले आफू र मुनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको सो अवसरमा जानकारी दिनुभएको थियो ।

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ । प्योङयाङको तीनदिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाबीचको अवरुद्ध वार्ता पुनः सुरु गराउन पहल गर्ने वताउनुभएको थियो । यसैवीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको वताउनुभएको छ । दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ । राष्ट्रपति मुन बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू