अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

राजु सुब्बा २०७५ साउन ३१ गते १७:०१ मा प्रकाशित

गत १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । 

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

युकेका लागि नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले संयुक्त रूपमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । 

व्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार सङ्केतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्नुभयो । नेपाल सरकारका प्रतिनिधि राजदूत सुवेदीले युकेमा अहिले सम्म भएका २० राजदूतहरू मध्ये साहित्य कर्म गर्ने आफू दोस्रो राजदूत भएको खुलासा गर्दै सम्मेलनको सफलताको कामना गर्नुभयो । त्यस्तै अर्का प्रमुख अतिथि कवि दिवसले नेपाल भित्र बोलिने सम्पूर्ण भाषाहरूको साहित्य नेपाली साहित्य हो भन्नुभयो ।

विभिन्न ५ शीर्षकमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । जर्मन प्रोफेसर बि सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो । प्राडा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाली साहित्यका कृतिहरू पुगेका लाईब्रेरी सङ्ख्याको तथ्याङ पस्कनुभयो । नेपाली गीत लेखनको बारेमा गीतकार भावेश भुमरी, बेल्पाली नेपाली साहित्यकार र युद्ध साहित्य बारे विजय हितान, नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा अध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकारहरूको बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र समग्र नेपाली साहित्यको बारेमा प्राडा. नोबेल किशोर राईले बोल्नुभयो । त्यस्तैगरि आमन्त्रित अष्ट्रियाबाट सहभागी हुन भएकी सेला स्टेनरले साहित्यकार झमक घिमिरेको बारे बनेको फिल्मको ट्रेलर सहित जानकारी गराउनु भएको थियो भने भारतको भाक्सुबाट मित्र सेन प्रतिष्ठानकी संरक्षक वयोवृद्ध प्रतिमा दोधराजको पनि उपथिती रहेको थियो । 

साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दूत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दूत (धौलागीरी) २०१८ श्रीमती लक्ष्मी राई थापा (लारा) लाई ताम्रपत्र सहितको सम्मान प्रदान गरियो । सो अवसरमा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूको बाहुलीबाट पालैपालो सात वटा पुस्तकहरू लोकापर्ण भयो । जसमध्ये विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाहरूको सङ्कलित रचनाहरूको सँगालो सँगालो ‘बिनेसाम दर्पण“, मस्को निवासी कृष्ण प्रसाद श्रेष्ठद्वारा रसियनबाट नेपालीमा अनुवादित कविता कृति ‘रुसी पल्लव“, प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा“, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सहसचिव सुनिता राई कन्दङवाको ‘एक जुवा घाम“ नामक कविता कृति, बेल्पाली कवि जानु काम्बाङको ‘नउघारेको जून“ र अर्का बेल्पाली साहित्यकार केदार सङ्केतको ‘बुद्दल्याण्ड टु मदरल्याण्ड“को लोकार्पण गरियो । 

कार्यक्रमको बिचबिचमा बाँसुरी समूहका तर्फबाट सुरेन्द्र ईगनाम, सेमन्त राई, भरत लोहरुङ र सांरगी ग्रुपबाट डम्बर सिंबाट मिठा संगीतहरु पस्किएका थिए । त्यस्तै मिलियन, विना र नेहाले नृत्य प्रस्तुत गरेका थिए भने गायक थीर थापाले सुमधुर गीत पस्केका थिए ।

सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार सुनुवार ‘सङ्केत“ले ८ बुँदे घोषणापत्र जारी गर्नुभयो । सम्मेलनका सहभागीहरूलाई ब्याकपाइप बजाएर सबैलाई स्वागत र बिदाइ गरिएको थियो भने खाना ब्रेक तथा कार्यक्रमको सुरुवात पनि पाइप बजाएरै जनाऊ दिइएको थियो । कार्यक्रमलाई विनेसाम साउथ वेष्ट स्वाधीन शाखाकी महासचिव जानु काम्बाङ र केन्द्रीय सचिव सङ्केतले सञ्चालन गर्नुभएको थियो । 

सम्मेलनको विसर्जन लगतै सह आयोजक साहित्य विकास परिषदद्धारा क्यान्टवरीको चमचम रेष्टुरेष्टमा स्वागत तथा रात्रीभोजको कार्यक्रम सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन पूर्व योजना मुताबिक साहित्यिक भ्रमण अन्तर्गत १८ औ शताब्दीका चर्चित साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको यात्रा भयो भने साँझपंख सम्मेलनको निम्ति नेपालबाट आमन्त्रित तथा सहभागी पाहुनाहरूको निम्ति नेपाली राजदुतावासद्धारा स्वागत रात्रीभोजको आयोजना सुसम्पन्न भयो । पहिलो सम्मेलन सन् २०१३ अक्टोबर २५ का दिन काठमाडौँमा सम्पन्न गरी ११ बुँदे घोषणापत्र जारी गरेको थियो ।

घोषणा-पत्र
आज मिति १२ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सह आयोजक नेपाली साहित्य विकास परिषद् युकेको आयोजनामा क्यान्टवरी क्राइसचर्च युनिभर्सिटीको हलमा सम्पन्न दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले निम्न ८ बुँदा घोषणा गर्दछ ।

१. नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरूको साहित्य तथा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।

२. नेपाली (खस जुम्ली) भाषालाई देव नागरिक लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।

३. नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।

४. नेपाली वर्ण विन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनि विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।

५. नेपाल भित्र बोलिने १२५ भाषाहरू मध्ये झन्डै २ दर्जन भाषाका कविताहरूलाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ ।

६. देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरूलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख व्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मूल्याङ्कन गरी सम्मान होस भनी जोडदार माग गर्दछ ।

७. नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ट भइसकेकोले नेपाली साहित्य आकाशमा यसको व्यापक पठनपाठन होस भन्ने माग गर्दछ ।

८. यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने २० मुलुकका २७ शाखाहरू, सहयोगदाताहरु लगायत साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू