अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

नर्थ क्याराेलाइनामा २०५ आैं भानुभक्त जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ साउन ९ गते १०:०७ मा प्रकाशित

जुलाई २१ तारिखका दिन नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र त्यसमा आबद्ध नेपाली पाठशालासँग मिलेर भानुभक्त सम्बन्धी बाल वक्त्रित्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन गरी २०५ आै भानु जयन्ती भब्यरुपले मनाएको छ ।

कार्यक्रमको पहिलो चरणमा उमेर समूह अनुसार बालबालिकाहरू बिच ‘भानुभक्त र नेपाली भाषा’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो, जस अनुसार केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरू थिए। पहिलो समूहमा क्रमशः: साइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए। यसै गरी दाेस्राे समूह अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला,दोस्रा र तेस्रा भएका थिए। तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमशः: प्रथम, द्वितीय र तृतीय भएका थिए। त्यसै गरी चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र द्वितीय भएका थिए। विजयी हुने बालबालिकाहरूलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. वटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्त रूपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। 

कार्यक्रमको दाेस्राे चरणमा भानुभक्तको भेषमा आउनुभएका विक्रम गाैतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरू लेखेका थिए भन्दै केही कविताहरू सुनाउनु भयो। वहाँले भानुका बारेमा थप प्रस्ट पार्दै रामायण लगायत विभिन्न समयका पुस्तकहरूका बारेमा सारांशमा चर्चा गर्नुभएको थियो र अन्त्यमा भानुभक्तले आफ्नो छोरालाई पढ्न अर्ती दिँदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर सुनाउनु भएको थियो। यसै क्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुर नगरी कविता पाठ गर्नुभएको थियो । साथै वहाँले हालको कान्तिपुरको अवस्था त्यो वेला जस्तो नभएको भन्दै भानुभक्तीय कान्तिपुर नगरी कविताको जवाफ रोचक ढङ्गले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ- आफ्ना कविता पाठ गर्नु भएको थियो। 

कार्यक्रमको तेस्रो चरणमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्दै संस्थाले गरेका कार्यहरू सुनाउनु भएको थियो। प्रधानका अनुसार २०१२ देखि अनवरत रूपले घरदैलो मासिक कार्यक्रम भइसकेको र करिब ६० जना सर्जकका बारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनको लेखा राख्ने काम भइसकेको छ । साथै उहाँले शारदा साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना विशेष अङ्क, कविता तथा बालकथा सङ्ग्रह प्रकाशन जस्ता कार्यक्रमहरू गरिएको चर्चा गर्नुभएको थियो। 

उक्त कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आगामी दुई वर्षको लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो। जस अनुसार अध्यक्ष शिखर दुलाल, वरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष शिशिर खनाल,महासचिव निर्मला राजभण्डारी र काेषाधक्ष सुजाता ढुङ्गेल निर्विरोध चुनिनुभएको छ । यसै गरी सदस्यहरूमा डा अच्युत शर्मा, डा. ऋषि बस्ताकोटी, विक्रम गाैतम, सुवास ढकाल, गीता बस्नेत र डा दीपेन्द्र अर्याल रहनुभएको छ ।निर्वाचन प्रक्रिया अनुसार निर्विरोध निर्वाचित हुनुभएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनोज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो। अध्यक्ष पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिखर दुलालले सबैको सहयाेगकाे अपेक्षा गर्दै अबको खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफू त केवल फुटबल मात्रै भएको र त्यसलाई खेलाएर पाेष्टमा गोल गर्ने जिम्मा खेलाडीकै हो भन्नुभयो। खेलको उदाहरण दिँदै तपाईहरुनै खेलाडी र रेफ्री हो, मेरो काम तपाइहरूले जता गुडाउनु हुन्छ त्यतै गुड्ने हो भन्दै आफ्नो नयाँ कार्यसमितीकाे परिचय गराउनु भएको थियो। नर्थक्याराेलाईना नेपाली साहित्य समाजले अन्तर्राष्ट्रिय नेपाली समाज नर्थक्याराेलाईनाकाे पनि प्रतिनिधिको रूपमा काम गर्दै आइरहेको छ ।

नर्थक्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानको सभापतित्वमा भएको कार्यक्रममा समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन कवयित्री नम्रता आचार्यले गर्नुभएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू