अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

पोखरामा बोलबम सुरु

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:४७ मा प्रकाशित

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५ औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बोलबमधाम, बैदामले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा सुरु भएको हो ।
साउनको पहिलो सोमबार आज केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन बिहानैदेखि दिउँसो अबेरसम्म पूजाआजा गर्न व्यस्त रहे । यसपालि साउनमा ४ वटा सोमबार परेका छन् । शिवलिङ्गमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले वताउनुभयो ।

बोलबम संयोजक शंकर खरालले १५ वर्षअघि केदारेश्वरले सुरु गरेको बोलबम पोखराको संस्कृति बन्दै गएको वताउनुभयो । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दै आएको छ । वोलवमको अवसरमा पोखरा वगरको गाईघाटदेखि नै शोभायात्रा सहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो ।
गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिङ्गमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ ।

साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू