अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

अमेरिकामा गायक सुगम क्रेज

शिव शर्मा, टेक्सस २०७५ जेठ २० गते २१:१५ मा प्रकाशित

अमेरिकाको साङ्गीतिक टुरमा रहेका पप गायक सुगम पोखरेलको कन्सर्टमा दर्शकको क्रेज बढ्दै गएको छ । उनको प्रस्तुतिमा बालबालिका, युवा देखि पाका दर्शकहरू झुमिरहेका छन् । अमेरिकाको टेक्ससबाट सुरु भएको उनको साङ्गीतिक यात्रा बोष्टन, मिनसोटा लगायतका राज्यहरूमा निरन्तर चलिरहेको छ । कन्सर्टमा दर्शकको क्रेज राज्यपिच्छे बढिरहेको छ । उनले दिएका हिट नम्बरहरूमा दर्शकहरू कम्मर मर्काउँदै नाचिरहेका छन् । फ्युजन इन्टरनेशनल नेपसिने तथा प्लानेट ३ फिल्मस्को पहलमा स्थानीय आहा प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा दर्शकको भीड थाम्न आयोजकलाई हम्मे परिरहेको छ । पछिल्लो समय फिल्मी गीत गाएर समेत लोकप्रियता बटुलेका उनलाई फिल्मका गीतमा पनि दर्शकले रुचाएका छन् । हरेक कन्सर्टमा दर्शकको साथले हौसीएका उनलाई उत्साही तुल्याएको छ । ‘सबै खाले दर्शकको कन्सर्टमा उपस्थिति पाइरहेको छु’ फुर्तिलो पारामा उनले भने–‘परदेशमा पनि दर्शकको क्रेज राम्रै पाएको छु ।’

उनीसँग सेल्फी लिने र अटोग्राफ लिनेहरुको पनि कार्यक्रमस्थलमा उस्तै भीड हुने गरेको छ । हरेक गीतमा दर्शकको साथ उनले पाएका छौ । ‘उनको साङ्गीतिक टुर हरेक राज्यमा सोचे भन्दा राम्रो भएको छ’ आयोजक संस्थाका रायन रेजले जानकारी दिए । उनका अनुसार कार्यक्रमको लोकप्रियता सँगै थप राज्यहरूमा कन्सर्टको माग बढ्दै गएको छ ।

टेक्ससबाटै अमेरिकाको साङ्गीतिक यात्राको सुरुवात गरेका उनले १६ भन्दा बढी राज्यमा कन्सर्ट गर्ने जनाएका छन् । पहिलो पटक २००८ मा चार महिना कन्सर्टमा आएका गायक गत वर्ष छोटो समयमा आएर कार्यक्रम गरेर फर्किएका थिए । तेस्रो पटक कार्यक्रमका लागी अमेरिका आएका उनले यो पटक झन्डै चार महिना विभिन्न राज्यहरूमा कन्सर्टमा बिताउने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू