अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

वरिष्ठ गीतकार कालीप्रसादलाई सम्मान गरिने

गोपी कृष्ण, काठमाडौँ २०७५ जेठ १६ गते १७:५९ मा प्रकाशित

विगतका वर्षमा जस्तै गीतकार सङ्घ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि ‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘वर्ष गीत पुरस्कार’, ‘वर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना गरिने संस्थाले एक कार्यक्रमका बिच जानकारी गराएको छ ।

यसबर्ष सङ्घले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत वरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरिएको गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए । उनका अनुसार संस्थामा आबद्ध सदस्यहस्ले वि.सं. २०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरू मध्येबाट छनौट समितिको सिफारिसमा वर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरू प्नि छनौट गरिएको छ । छानिएका उत्कृष्ट १० गीतहरू मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैटौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइयो ।

यस्तै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहँदै आएका गीतकारहरू मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै वर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष जानुका राईको ‘आमा २’, पूर्ण बहादुर साउद ‘शिरीष’को ‘गजलको धुन–३’ र सुमन श्रापितको ‘भावनाको खेती’ छनोट गरेको छ । यी मध्ये विज्ञ समितिबाट एक पुस्तकलाई रु ५१ ह्जार नगद राशि सहित प्रमाणपत्र प्रदान गरिनेछ । यसबर्ष करिब सय गीत र ११ पुस्तकहरू प्रतिस्पर्धामा आएको बताइएको छ । सम्मान कार्यक्रम यसै महिनाभित्र आयोजना गरिने तर कुन स्थान र मितिमा हुने भन्ने केहिदिनमा सार्वजनिक गरिने सङ्घले बताएको छ ।