अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

छैटौँ राष्ट्रिय लोक दोहोरी गीत अवार्ड हुने

गोपी कृष्ण, काठमाडौँ २०७५ असार १२ गते २३:२७ मा प्रकाशित

विगतका वर्ष जस्तै यसबर्ष पनि दोहोरी क्षेत्रमा लागेका कलाकारहरूलाई लक्षित गर्दै दोहोरी गीतको अवार्ड आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौँको आयोजनामा आउँदो असोजमा सम्पन्न हुने यस ‘छैटौँ राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’का लागी फारम खुल्ला गरिएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले अवार्डको विषयमा जानकारी गरायो ।

राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौँका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । पछिल्लो समय विभिन्न अवार्डहरूको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीतको विधामा काम गर्दै आएका कलाकारहरूका लागी यो अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए । उनले अवार्ड भव्य र सब्य तरिकाले सम्पन्न हुने जानकारी दिए । ‘हामीले गतबर्ष पनि निकै सभ्य र भव्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौँ अहिले पनि त्यसै हुनेछ’, सापकोटाले सञ्चारकर्मीहरूसँग कुरिगर्दै भने । यस्तै प्रमुख अतिथिको रूपमा रहेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने जानकारी गराए । ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौँ र सरोकार पनि राख्दैनौँ तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौँ’, पंगेनीले भने । यस्तै उनले विगत ६ वर्षदेखि आयोजना हुँदै आएको अवार्ड अहिलेसम्म कुनै पनि विवादमा नपरेको बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्व अध्यक्ष शिव हमालले आफ्नो कार्यकाल देखिनै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडी बढाएको बताए । लोक तथा दोहोरी गीतको क्षेत्रमा लाग्ने नयाँ तथा चर्चित कलाकार सबैको उपस्थिति रहने उनले जानकारी दिए । ‘अन्य अवार्डमा ठुला अथवा चर्चित कलाकारहरू अवार्ड लिन जानुहुन्न भन्ने हल्ला सुनिन्छ तर यो अवार्डमा दोहोरी गीतक्षेत्रका जतिसुकै ठुला कलाकारहरू पनि आउनुहुनेछ’, हमालले भने ।

यस अवार्डमा ५ वटा सम्मानका विधा सहित २१ विधालाई समावेश गरिने बताइएको छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबर्द्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा विगत २०६९ सालबाट आयोजना हुँदै आएको छ ।