अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

मायाको गहिराई

कञ्चन शिवाकोटी २०७५ जेठ १४ गते १२:३८ मा प्रकाशित

बिहे गरेको एक वर्ष नबित्तै सासू बुहारीकाबिच कटाक्ष सुरु भयो । बुढी आमा, सरकारी कार्यालयको हाकिम छोरो र विद्यालयकी शिक्षिका बुहारी यी तिन प्राणी मात्र थिए घरमा । मौका पाउनासाथ सासू बुहारी बिचको झगडाले कहिलेकाहि उग्रा रूप लिन्थ्यो । आफ्नो लोग्नेलाई भएनभएको कुरा लगाएर घर उचाल्ने काममा बुहारीकै भूमिका बढी हुन्थ्यो । घरमा अशान्ति नहोस् भनेर पिडा र आँसुलाई भित्रै दबाएर राख्थिन् सासू π

समयको गति आफ्नै किसिमले बितिरहेको थियो । घरको बितण्डा सल्झिनुको सट्टा बसेको छोराले भोलि बुहारी ल्याउँछ र म पनि सासू भन्ने चेतना उनमा थिएन । म नारी हु, आमा हु, गृहिणि हु र शिक्षिका हु भन्ने चेतना घरमा आएपछि बुहारीको मनबाट अन्तै बसाई सर्थ्यो । घरको धन्दा सानो नातिको धरालो सत्तरी वर्षको वृद्ध उमेर, बुहारीको तिरस्कार र अपमान यी सबैकुराहरु छोप्न खोजेर पनि उदासी बनेर देखिन्थ्यो उनको मुहारमा । उनको खुसी वेदनामा परिणत भैरहेकामा भित्रभित्रै दुख्थिन उनी ।

बुहारी लोग्नेसँग सधैँ कचकच गर्थिन । सासू नसुने झैँ गर्थिन् । आमालाई बृद्धाश्रममा लगेर राखौँ भन्ने श्रीमतीको पुराण सुन्दासुन्दै आजित थियो महेश । महेश श्रीमतीका अगाडि प्रायः प्रतिक्रिया विहीन बस्थ्यो तर उदासी कम थिएन उसको पनि । दिनदिनैको श्रीमतीको कचकचबाट आजित उसले एक दिन आमाका अगाडि निरीह हुँदै तर झोक्किएर भन्यो, “हिँड्नुस् आमा बृद्धाश्रम जाऊँ ।” आमालाई उसको अभिव्यक्तिले आफू पराश्रीत र पराजित भएको महसुस भयो । उनलाई मातृत्व र दशधारा दूध पनि धिक्कार लाग्यो । मुटु छियाछिया भयो । मन उदास भयो । औसि पोतियो जतासुकै ।

आमालाई बृद्धाश्राममा लगेर अर्थात् छोडेर आएको दिन बेचेन थियो महेश । भोलि पल्ट बुहारी रमिलाले मिठो मिठो खानेकुरा पकाइन् । बिहान खानेबेलामा टुप्लुक्क आइपुगिन् आमा । महेशले स्वास्नीतिर हेर्यो । उ ठुस्किई । महेशले भन्यो, “किन आउनुभएको आमा बृद्धाश्रमबाट फेरी यहाँ ?” आमाले भनिन्, “तलाई सानैदेखि जुलेबी अत्यन्तै मन पर्थ्यो छोरा सानोमा यही खुवाईरहन्थे । आज बृद्धाश्रममा सबैलाई जुलेबी बाँडेका थिए । तलाइ सम्झेर खानै सकिन । यही जुलेबी तलाइ दिन्छु भनेर मात्र आएकी हुँ । ल खा बाबु म गए ।

सम्बन्धित सामग्रीहरू