अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

चितवनमा फेरि देखियो बर्डफ्लु, काठमाडौंमा जोखिम

बिआरटीनेपाल २०७५ जेठ ८ गते १९:०० मा प्रकाशित

पूर्वी चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लुको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । खैरहनी नगरपालिका–९ सुर्तनीमा बर्डफ्लु देखिएपछि सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।

बर्डफ्लु देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा लोकल कुखुरा, १४४ वटा हाँस, चारवटा ब्रोइलर कुखुरा, ६०७ किलो दाना र १२ हजार ७२६ वटा अन्डा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेलले बताए ।

बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ ले क्षतिको अधिकतम् ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको जानकारी दिँदै खरेलले भर्खर अन्डा दिन लागेका कुखुरालाई प्रतिकुखुरा ५०० रुपैयाँ र अन्डा दिएर सक्ने बेला भएकालाई प्रतिकुखुरा ३०० रुपैयाँ लागत मूल्य सिफारिस गरिएको जानकारी दिए ।

सरदर कुखुराको मूल्य ४७५ रुपैयाँ प्रतिगोटा पर्नेे जानकारी दिँदै नेपाल अन्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलले अन्डा दिन सुरु गरेका लेयर्स कुखुराको लागत मूल्य ६०० पर्ने बताए । अन्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य ३५० रुपैयाँ पर्ने उनले बताए ।

सन् २०१० मा पहिलोपटक चितवनमा बर्डफ्लु देखापरेको थियो । ११ हजार ९५० लेयर्स कुखुरा मारिएका कारण लागत मूल्य ५६ लाख ७६ हजार २५० रुपैयाँ परेको उनले जानकारी दिए । त्यसैगरी, नष्ट गरिएका स्थानीय जातका कुखुराको सरदर २३ हजार, ब्रोइलर कुखुराको १ हजार ६००, दानाको २७ हजार ३१५, अन्डाको १ लाख ५२ हजार ७१२ रुपैयाँ नष्ट भएको जानकारी दिँदै कँडेलले ७० लाख ६८ हजार ३७७ रुपैयाँभन्दा बढीको लागत मूल्य नोक्सान भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू