अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

काव्य उत्सवका सफलताका एक वर्ष

बिआरटीनेपाल २०७५ जेठ १ गते ११:४५ मा प्रकाशित

काव्य उत्सव अनेसास नेपाल च्याप्टरको उपसमितिको रूपमा गत वर्षको जेष्ठ २७ गते शनिवार गठन भएको एउटा स्रष्टा भेटघाट तथा रचना वाचनको साहित्यिक कार्यक्रम हो । अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल च्याप्टरका अध्यक्ष कवि राधेश्याम लेकाली र अनेसास बिओटी सदस्य एवम् कवि ऋषि बरालले नेपाली साहित्यमा नयाँ आयाम थप्ने अभिप्रायले यो काव्यिक श्रृङ्खलाको उद्घाटन गर्नु भएको हो ।

यो उत्सवको उद्धेश्य भनेको नयाँ र पुराना स्रष्टाहरूबिचमा सेतुको काम गर्ने एवम् नेपालमा विद्यमान प्रचलनमा रहेका विभिन्न भाषामा लेखिएका साहित्यिक सृजनाहरूलाई सुन्ने विमर्श गर्ने तथा नेपाली साहित्य हिजो आज र भोलिका बारेमा श्रृङ्खलात्मक रूपमा चर्चा परीचर्चा गर्ने हेतु समेत हो । काव्य उत्सवका संयोजकमा ऋषि बराल हुनुहुन्छ भने सहसंयोजक पुष्पा खनाल र सदस्यहरूमा रञ्जना निरौला, पारिजात भण्डारी र शान्ता बुढाथोकी बस्नेत हुनुहुन्छ । कार्यक्रम हरेक महिनाको अन्तिम शनिवार काठमाण्डौको बालुवाटारमा रहेको जापनिज उरुतोरा रेस्टुरेन्टमा आयोजना हुने गर्दछ ।

बाह्रौ श्रृङ्खला सम्म आइपुग्दा देशका स्वनाम धन्य कवि एवम् कवयत्रिहरु, साहित्यकारहरूको साथ यस उत्सवले पाएको छ । वहाँहरूका विचार, अनुभव, सिर्जनाका अनुभूतिलाई यसरी बाँड्नु भयो कि यो काव्य उत्सवलाई आजसम्म गर्विलो र उच्च शिर गर्दै नयाँ भविष्यतिर लम्किन हौसला मिलेको छ । यति मात्र नभै सिर्जनशील हातहरूले एउटा स्तरीय मञ्च पाएर आफूलाई स्थापित भएको महसुस समेत गर्नुभएको अनुभव हामीले यो श्रृङ्खलाको दौरानमा गर्‍यौ जुन काव्य उत्सवको ठुलो सम्पतीको रूपमा रहिरहने छ । काव्य उत्सवले आगामी दिनमा स्रष्टाका मनमा सुनौला छापहरू छोड्दै जानेछ र नेपाली वाङ्मयको इतिहासमा कोसे ढ्ङ्गा साबित हुनेछ भन्ने कुरामा विश्वास लिन सकिन्छ ।

२०७५ साल वैशाख २९ गते शनिवारको बाह्रौ श्रृङ्खला पनि तोकिएको समयमानै सबै स्रष्टाहरू भेलाभएर तोकिएको समयमा समापन भएको थियो । कार्यक्रममा वरिष्ठ निवन्धकार, नियात्राकार एवम् कवि मञ्जुल नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने गोपाल अस्क र पवन आलोक अतिथिको रूपमा मञ्चासिन हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता काव्य उत्सवका संयोजक ऋषि बरालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एवम् उद्घोषण पुष्पा खनालले गर्नुभयो । कार्यक्रमको दैलो उघार्ने काम स्रष्टा बिमला अधिकारीको गीतबाट भयो भने क्रमैसँग कवि/गीतकार प्रकाश सुवेदी, नियात्राकार एवम् कवि मोहन चाँपागाई, गजलकार/मुक्तककार सुशीला खड्का हसिना, सर्जक शान्ता बुढाथोकी बस्नेत, गीतकार पुष्पा खनाल, कवयत्रि गीता मैनाली, सर्जक अर्जुन थापा, कवयत्रि सुस्मिता नेपाल, सर्जक मेनका लामा, गीतकार एवम् हाइकुकार किरण पौडेल, मुक्तककार एवम् कवि डा. यादव भट्टराई लगायतले आफ्ना गीत, गजल, हाइकु, मुक्तक, कविता सुनाउनु भयो भने गजलकार गोपाल अस्कले हिन्दी मैथली र नेपाली भाषामा लेखिएका मुक्तक र गजलका अवस्थाका बारेमा जानकारी गराउनुका साथै भाषा जुनसुकै चयन भए पनि नेपाली सुगन्ध आउने गरी लेखिएका रचनाहरूले नेपाली पाठक र श्रोताको मन जित्न सक्ने कुरा बताउँदै आफ्ना गीतर मुक्तकहरू सुनाउनु भएको थियो ।

त्यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले काव्य उत्सवले सफलता पूर्वक वाह्रौं श्रृङ्खला सम्पन्न गरेकामा बधाई ज्ञापन गर्दै काव्य उत्सव समितिलाई यसको अनन्त यात्राको शुभेच्छा समेत दिनुभएको थियो भने आफ्नो कविता वाचन गर्नु भएको थियो । प्रमुख अतिथि मञ्जुल नेपालले आफूले नेपाली साहित्यको उन्नयन र श्रीबृद्धिमा गरेका विभिन्न कालखण्डका कहानीहरू रोमाञ्चक रूपमा सुनाउँदै बाल्यकालमा शङ्खत्रो चोर्न जाँदा भोगेका समस्यालाई जस्ताको तस्तै कविताको रूपमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्य एवम् सांस्कृतिक उपसमिति संयोजक राजन के.सी.को समेत उपस्थिति रहेको थियो ।

अन्त्यमा कार्यक्रमको समापन मन्तव्य राख्दै काव्य उत्सवका संयोजक ऋषि बरालले कार्यक्रमको महत्त्व, उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । वहाँले मई ११देखि १३, २०१८मा अमेरिकामा भइरहेको अनेसासको च्याप्टर सम्मेलनको सफलताको लागि अनेसासका अध्यक्ष पदम विश्वकर्मा लगायत अमेरिकामा कार्यक्रममा सहभागी सबै सदस्यहरूलाई शुभकामना समेत व्यक्त गर्नुभयो । काव्य उत्सवलाई सफलता पूर्वक बाह्रौ श्रृङ्खलासम्म ल्याइपुर्‍याउन अहम् भूमिका निर्वाह गर्ने अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माइला एवम् प्रत्यक्ष परोक्ष सहयोगी हातहरूलाई धन्यबाद् दिदैं ऋषि बरालले आफ्ना रचना वाचन गरी कार्यक्रमको बिट मार्नु भएको थियो ।

अन्त्यमा उरुतोरा जापनिज रेस्टुरेन्टमा बनेको जापानी खानाको रस्वस्वादन र सबै स्रष्टाहरूको सामूहिक फोटोसेसनसँगै कार्यक्रम समापन भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू