अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ११:१७ मा प्रकाशित

काठमाडौँ, नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा सङ्कल्पले आज राजधानीमा आयोजना गरेको महिला सुरक्षासम्बन्धी कार्यक्रममा उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा ११ वटा यस्ता बलात्कारका घटना दर्ता भएको थियो, अहिलेसम्मको अवस्था हेर्दा यस वर्ष पनि गत वर्षभन्दा पनि बढी बलात्कारका घटना हुने देखिन्छ ।”

केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्कअनुसार चालू आवमा भएको भएको बलात्कारसम्बन्धी घटनाअनुसार ३१ प्रतिशत १० वर्षमुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्षभित्रका, सात प्रतिशत १६ देखि १८ वर्षसम्मका किशोरी बलात्कारमा परेका छन् ।

पाँच वर्षमुनिका बालिकादेखि ६० वर्ष माथिका महिला पनि बलात्कार हुने घटना बढेको भन्दै उहाँहरूले कानुन संशोधन गरेरै भए पनि बलात्कारीलाई आजीवन कारावासको सजायदेखि मृत्युदण्डको व्यवस्था आवश्यक भएको सुझाव दिनुभयो ।

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले कानुनी शासनको राम्रो अभ्यास गरी बलात्कार जस्तो जघन्य आपराधिक घटनाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सङ्कल्पको अध्यक्ष एवं मानव अधिकारकर्मी लिली थापाले बलात्कारसम्बन्धी घटनाको अन्त्यका लागि सुरक्षा निकायमा महिला सुरक्षाकर्मी वृद्धि गरिनुपर्ने, महिला सुरक्षाको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने तथा बलात्कारसम्बन्धी स्पष्ट नीति बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा समाजशास्त्री डा. विन्दु पोखरेल तथा डा छात्र अमात्यले विद्यालय तथा कलेजका युवालाई मानवअधिकार र जघन्य अपराधका सम्बन्धमा पाठ्यक्रममार्फत नै शिक्षा दिई बलात्कार घटनाको अन्त्य गर्न पहल गर्नुपर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा सहभागी अधिकांश महिला अधिकारकर्मीले बलात्कारमा सहभागी जो कोहीलाई आजीवन कारावासमा राखेर यातना दिनुपर्ने बताउँदै १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू