अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

पत्रकार पन्थीको पुस्तक ‘कम्पन’ सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख १० गते १७:४५ मा प्रकाशित

काठमाडौँ, पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को गत सोमबार लोकार्पण गरिएको छ । एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल, प्रा डा. खगेन्द्र लुइँटेलले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ । “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।” उहाँले थप्नु भयो । भूकम्पको अनुभवलाई संस्मरणको रूपमा पुस्तकमा समेटिएकोमा उनले खुसी व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्प पछिको पुननिर्माण निकै सुस्त भएको बताए । भूकम्प पीडितहरूलाई थप पिडा नदिन आग्रह गर्दै उनले पीडितहरूलाई किस्तामा नभई एकमुष्ट रूपमा अनुदान रकम वितरण गर्न सरकारसँग आग्रह गरे । भूकम्प पछि पुननिर्माणको अवसर भए पनि त्यसो हुन नसकेको उनको भनाई थियो ।

प्रा डा. खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेख्नुभएको बताउनुभयो ।

२०७२ सालको महाभूकम्पका घटना समेटेर पुस्तक ‘कम्पन’ ल्याएको लेखक पन्थीले बताउनुभयो । लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताउनुभयो । पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू