अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

नेपाल टेलिकमले बाग्लुङ जिल्लाको ढोरपाटनमा जीएसएम मोबाइल सेवा सञ्चालन

बिआरटीनेपाल २०७५ वैशाख १० गते १०:२६ मा प्रकाशित

नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा घन् विटिएस स्थापना गरी २०७५ वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा घन् सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दुरीमा र करिब ३ हजार २ सय मिटर उचाइमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिब ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने छ ।

त्यसै गरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भी स्याट प्रविधि मार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउँपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिब २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुनेछन् । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दुरीमा अवस्थित छ ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् । 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू