अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

आमा तिमी को हौ ?

पीताम्बर पाण्डेय २०७५ वैशाख ३ गते ८:३० मा प्रकाशित

आमा तिमी नदी हौ, ममताकी। तिमी सागर हौ, मातृप्रेमकी । अनि महासागर हौ ममता र करुणाकी । सन्तानको निमित्त आफ्नो लागि केही पनि नराख्ने तिमी मात्र त हौ एक भगवान्, यो दुनियाँँकी। यो नुझ्न त्यति सजिलो रहेनछ। म अरूको अगाडि गल्ती गर्दा मलाई पीट्थ्यौ, म रुन्थे तर मलाई पीट्ने आमा तिम्रो आँखामा पनि आँसु किन आउँथ्यो, म बुझ्न सक्थिन। घरमा अन्न सब्जी सकिँदा समेत पाहुना पाछा र कदाचित माग्नेहरूको लागि समेत कसरी खाना पुर्‍याउने गर्थ्यौ, त्यो मैले कहिल्यै बुझ्न सक्थिन। तिम्रो कला र विवेक कति अतुलनिय छ आमा। म सानो थिए, तिमी त धेरै ठुली। तर तिम्रो कचौरामा भन्दा मेरो कचौरामा सधैँ दूध किन धेरै हुन्थ्यो म कहिल्यै बुझ्थिन । तिम्रो माया कति अपार छ। कयौँ पटक आधा पेट त कहिले भोकै सुथ्यौ तर म कहिल्यै भोकै सुत्न परेन। छर-छिमेकी कहाँ किन गई रहन्थ्यौ, त्यो म कहिल्यै बुझिन। सन्तानको निम्ति तिम्रो मातृस्नेह कति आदर्णीय छ, त्यो म बल्ल बुझ्दै छु। भाँडा भरी तरकारी हुन्थ्यो, सबैले खाएर उठ्थे, अनि आफ्ना लागि केही रस बनाइ रहेकी हुन्थ्यौ। मलाई लग्थ्यो तिमीले छुट्टै विशेष केही बनाएर खाने गर्दथ्यौ, म कति अबुझ थिए । गोठका गाई, बाख्रा त भोकै सुत्न परेन, मलाई किन भोकै सुत्न दिन्थ्यौ र आमा तिमीलेरु त्यो त म अहिले बल्ल सोच्दै छु अनि त्यसैले त भन्दै छु कि तिमी मेरी मात्रै हैन जगतकी भगवान् हौ ।

धेरै चिन्तन पश्चात् मेरो अबुझ मस्तिष्कले निष्कर्ष निकाल्दछ, यो सबै तिमीले मात्र गर्न सक्दछौ किन भने तिमी आमा हौ । थोरै बुझे पनि यो शब्दको अर्थ खोजेर नै सकिँदो रहेनछ। म जति नै घोत्लिएर सोचूँ, अनि मेरो मनोबेग जति नै रफ्तारमा दौडियोस, तिमो मातृप्रेमको हिसाब गणना गर्न सक्दैन। तिम्रो देदीप्यमान ममतको गहिराइ नाप्न सक्दैन । अनि म जति सुकै पढूँ तर तिम्रो बयान गर्ने उच्च शब्द नै पाउंँदिन । आखिर आमा तिमी को हौरु म फेरी बाल्यकाल सम्झन्छु । म रिसाई बसे तिमी बोलाई रहन्थ्यौ। म बोली रहे तिमी सुनी रहन्थ्यौ । मेरो आँखामा आँसु देखे पनि तिमी रुन्थ्यौ, म खुसीले पागल हुँदा पनि तिमी रुन्थ्यौ, म कसरी बुझूँ कि तिमी को हौ ?

महिनौँ पेटमा राखेर जन्म दियौ । मेरा प्रत्येक रातहरूमा आफू जागेर सुतायौ। मेरा प्रत्येक रुवाइमा आत्तियौ, हाँसोमा रमायौ। म सानो नाजुक फुल जस्तो नाबालकलाई यती ठुलो बनाउँदा सम्म कति दुस्ख खेप्यौ त्यो त कल्पना बाहिरको कुरा रहेछ। त्यो मातृ ॠण घटाउन म आमा को लागि के गरेँ त भनी सोच्दा आज म अहँ त्यस्तो केही पाउँदिन। म त यती अभागी रहेछु कि म पहिलो पटक आमा भनेर कहिले बोलाए भन्ने पनि याद छैन। चाहे म संसार देखूँ, तर तिम्रो जस्तो सुन्दर अनुहार म कहीँ देख्न पाउँदिन । उन्नतिको शिखर र सबैको वाह वाहमा बाँच, तर मेरो लागि तिम्रो जस्तो खुसीको दिव्य हाँसो म कहीँ कसैबाट पाउँदिन । मायाको भोक र प्रेमको प्यासले चाहे सारा संसार चहारुँ, तर तिम्रो काखको न्यानोको असीम आनन्द र संरक्षण म कहीँ पाउँदिन। स्वर्णिम आनन्दको वैभव-गगनमा नाचूँ, रमाउन खोजूँ तर तिम्रो कपडाको जस्तो अद्भुत सुगन्ध म कहीँ भेट्दिन । आमा म तिमीलाई ममताकी नदी मान्दछु, मातृप्रेमकी सागर र अनि ममता र करुणाकी महासागर पनि मान्दछु। म उपमा तिमीलाई धर्तीको दिन्छु । तुलना केवल पृथ्वीसँग मात्र हैन पुरा ब्रम्हाण्डसँग गर्दछु । तर जे भने पनि तिम्रो निम्ति यी सबै शब्द र शब्दभावहरु फिक्का र अमूर्त लाग्न छोड्दैन । खै कुन शब्दले बयान गरूँ आमा कि तिमी को हौ ?

मातृऔँशी र आमाको मुख हेर्ने दिनको सबै जनालाई धेरै धेरै शुभकामना, सम्पूर्ण माताहरूलाई हृदयभावले प्रणाम !

प्रतिक्रिया