अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

नागरिक न्युज २०७४ चैत २८ गते २२:४८ मा प्रकाशित

उदयपुर – उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

आफ्नै निवासमा रहेका साहलार्इ अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीबाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले अख्तियारको टोलीले उनको निवासमा छापा मारेको पुष्टि गरे। 

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्सा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबिच बार्गेनिङ चलेको स्रोतको दाबी छ । नक्सा सुधार गरेबापत २ लाख लिने सहमति भएको र ५० हजार पेश्कीवापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्दै सबै विवरण आपुूलाई प्राप्त नभइसकेको बताए । ‘अघिल्लो दिन सेवाग्राहीबाट ५० हजार लिएको उजुरी परे अनुसार अख्तियारको टोलीले प्रमुख शाहको निवासमा छापा मारेको हो’ उनले भने ‘तर, विस्तृत विवरण भने प्राप्त भइसकेको छैन।’

नागरिक न्युजबाट

सम्बन्धित सामग्रीहरू