अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

कम उमेरमा हृदयाघात हुने जोखिम

बिआरटीनेपाल २०७४ चैत २३ गते २३:४० मा प्रकाशित

जुम्ला, वरिष्ठ मुटुरोग विशेष डा भगवान् कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा कोइरालाले भन्नुभयो, “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ।” दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उहाँको भनाइ थियो ।

शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिस गरिएको छ । सिफारिस भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा रु एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उहाँले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने जनाउनुभयो । हिमाली जिल्लामा नवनिर्मित ३०० शय्याको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै उहाँले यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड थियो ।

शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिनुभयो । प्रतिष्ठान जुम्लासँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको रु दुई करोड ४० लाख खर्च हुन जोगिएको छ ।

शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका डीन प्रा डा मरहट्ठाले कार्डियो भास्कुलर थेरापीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सेवा निरन्तरताका लागि अनुरोध गर्नुभएको थियो । मुटुरोग विशेषज्ञ डा कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू