अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

जिन्दगीको मध्यान्तर पछि

कञ्चन सिवाकोटी, सिमरा बारा २०७४ चैत १४ गते ९:०२ मा प्रकाशित

एक अँगालो घाम
क्षितिज माथि बाँकी रहँदा,
तिमी उदाएर दिएको त्यो प्रेमिल स्पर्श
मरुभूमिको जिन्दगीमा बिरुवा बनेर
हुर्किरहेको छ; क्रमशः हुर्कि रहेको छ

अनकन्टारको यात्रा छिचोलेको यो जिन्दगीले
घाम-पानी र हुरी-बतास खेपेको यो जिन्दगीले
बग्नु छैन तरल भएर अविरल ओरालो,
बरु जमिदिन्छु र बनिदिन्छु चट्टान
कसैले फोर्न नसक्ने गरी

जिन्दगी उपहार हो वा हाँसो हो
अथवा, रोदन हो वा अट्टहास हो
परिभाषा आ- आफ्नै हुन्छ जिन्दगीको
कुनै परिभाषा भित्र नअँटाउने मेरो जिन्दगी
अथाह कथा-व्यथा पछिको एउटा सुन्दर पटाक्षेप हो

मेरो जिन्दगीको परिभाषा
कसैसँग नमिल्ने एउटा नौलो कथा हो
सुदुर आकाशको जुन हेरेर टोलाउनु भन्दा
त्यसलाई समाउन खोज्ने एउटा सुन्दर कविता हो
चट्टानी समय सँग जुधेर
चट्टानलाई फोर्न सक्ने
जिन्दगी भित्र पलाएको
मध्यान्तर पछिको
उदाहरणीय कथा हो !

प्रतिक्रिया