अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न हुने

बिआरटीनेपाल २०७४ फागुन २८ गते २०:४५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सिक्किममा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भब्यरुपमा सम्पन्न हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले जनाउनु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टरको आयोजनामा हुने सो सम्मेलनमा विश्वका विभिन्न मुलुकहरूबाट सो सम्मेलनमा विशिष्ट महिला साहित्यकारहरूको उपस्थिति रहने, सम्मेलनमा साहित्यकार तथा सिक्किममा मुख्य मन्त्री पवन चाम्लिंग प्रमुख अतिथि हुनु हुने, एनआरएन अध्यक्ष भवन भट्ट विशिष्ट अतिथिको रूपमा उपस्थित हुनु हुने, अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार प्रदान गरिने, विभिन्न पुस्तकहरू बिमोचन हुने, नेपाली साहित्यमा योगदान गर्ने विभिन्न चार जना महिला साहित्यकारहरूलाई सम्मान गरिने, कार्यपत्रहरू प्रस्तुत र त्यसमा छलफल गरिने, विश्वकाब्य गोष्ठी आयोजना हुने, सिक्किम घोषणा पत्र प्रस्तुत हुने अध्यक्ष विश्वकर्माले जनाउनु भएको छ ।

सम्मेलनमा नेपालका विशिष्ट महिला साहित्यकारहरू माया ठकुरी, प्राज्ञ डा. उषा ठाकुर, प्राज्ञ ज्ञानु पाण्डे, समालोचक लीला लुइँटेल, अमेरिकाबाट साहित्यकार तथा अनेसासका पूर्व अध्यक्ष गीता खत्री, महिला समितिका अध्यक्ष तथा साहित्यकार भारती गौतम, साहित्यकार मन्जु निरौला, छन्द कवि दुर्गा रिजाल, अष्ट्रेलियाबाट साहित्यकार सानु घिमिरे, बेलायतबाट साहित्यकार लारा, नेपालबाट अन्य विशिष्ट महिला साहित्यकार आदिको सहभागिता रहने संस्थाका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले जनाउनु भएको छ । यसै गरी कार्यक्रम कार्यक्रममा साहित्यकार गीता खत्रीलाई अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार प्रदान गरिने, नेपाली साहित्यमा विशेष योगदान गर्ने विभिन्न चार जना महिला साहित्यकारहरू डा. शान्ति प्रधान क्षेत्री (भारत), कविता पौडेल (नेपाल), प्रमिला शर्मा (अमेरिका) र शकुन्तला ज्ञवली (अमेरिका) लाई सम्मान गरिने अनेसासका महासचिव गोवर्द्धन पूजाले बताउनु भयो ।

सम्मेलनका अवसरमा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिने, त्यसमा छलफल गरिने, अन्तरक्रियाहरू गरिने, नेपाली महिला साहित्यकारहरूको रचनाहरू संकलित पुस्तक सिर्जनामा नारी लगायतका अन्य कृतिहरू बिमोचन गरिने महिला समितिका अध्यक्ष भारती गौतमले उल्लेख गर्नु भयो । यसै गरी सम्मेलनमा आवास, खाना, अतिथि सत्कार, मनोरञ्जन आदिको तयारी भैसकेको र आवास, खाना, स्थानीय यातायातको व्यवस्था सिक्किम सरकारबाट सहयोग हुने कार्यक्रमका संयोजक तथा अनेसास सिक्किम च्याप्टरका अध्यक्ष डा. पुष्पा शर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू