अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

वरिष्ठ पत्रकार होमनाथ दाहालसहित चारजना सम्मानित, चार पुस्तक सार्वजनिक

हरी मन्जुश्री २०७४ फागुन १६ गते १०:५७ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले २०७४ वर्षको आमसञ्चार सम्मान अग्रज आमसञ्चारकर्मी होमनाथ दाहाल र शिक्षा सम्मान नेपालकै सबैभन्दा जेठो शिक्षालय षडानन्द माध्यमिक विद्यालयलाई समर्पण गरेको छ । यसै गरी विज्ञान–प्रविधि सम्मानबाट प्रथम कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र सामाजिक जागरण सम्मान लभग्रीन नेपाल नामक संस्थालाई समर्पण गरिएको छ ।

प्रमुख अतिथि वरिष्ठ कवि तथा अग्रज संस्कृतिविद् तुलसी दिवसले उहाँहरूलाई उपहार, पाँच–पाँच हजार रुपियाँ, किरीट र अभिवन्दनापत्रबाट सम्मानित गर्नुभयो । यी सम्मानहरूसहित शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्ति तथा संस्थाहरूको सङ्ख्या एक सय पुगेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘भर्तृहरि शतक’ काव्य, बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘मी एन्ड माई धुलिखेल’ संस्मरण, विष्णुहरि तिमल्सिनाद्वारा सङ्कलित ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ कवितासङ्ग्रहलाई पनि सार्वजनिक गर्नुभयो । यी पुस्तकहरूसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या एक सय पुगेको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तुलसी दिवसले प्राज्ञिक कार्यक्रमहरूमा सरकारी संस्थाभन्दा अन्य संस्थाहरू अगाडि रहेको र शब्दशक्तिको तुलनामा अन्य शक्तिहरू फिका रहेको उल्लेख गर्नुभयो । सरकारी सहयोगविना पनि साहित्यिक क्षेत्रका ठुला–ठुला कामहरू गर्न सकिन्छ भन्ने उदाहरण शब्दयात्रा प्रकाशनले देखाइदिएको उहाँले बताउनुभयो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनले स्थापना भएको साढे ६ वर्षको अवधिको स्थानीय जनताको सहयोगमा बनेपामा ५ आना जग्गा जोड्न सकेको, प्रथम शिक्षासेवी, प्रथम गायिका, प्रथम वैज्ञानिक, प्रथम लोकतान्त्रिक पत्रकार र प्रथम साहित्यिक सहिदको सालिक निर्माण गरिएको, एक सयजनालाई सम्मानित गरिएको, एक सयवटा पुस्तक प्रकाशन गरिएको, नियमित साप्ताहिक पत्रिका प्रकाशन गरिएको, नियमित प्रवचन कार्यक्रम र नियमित रेडियो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा सभापतिका रूपबाट शिक्षासेवी निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनको सम्मानकोषका लागि १ लाख १ हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।

सम्मानित व्यक्तित्वहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मुकुन्दप्रसाद दाहालले र सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा फणीन्द्रराज अधिकारीले बोल्नुभएको थियो भने हरिगोपाल प्रधानले स्वागत भाषण गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त समारोहमा प्रमसख अतिथि तुलसी दिवसले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित नेपालभूमि साप्ताहिकमा २०७३ फागुनदेखि २०७३ फागुनसम्म १० भन्दा बढी लेख–रचना उपलब्ध गराउने लेखक–स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गर्नुभएको थियो । स्मृतिचिह्न पाउनेहरूमा बालसाहित्यकार गोपाल पराजुली, वरिष्ठ पत्रकार प्रा. डा. गोपाल शिवाकोटी, निबन्धकार द्रोणप्रसाद श्रेष्ठ, काव्यकार कविप्रसाद प्याकु¥याल, गजलकार अनीता भण्डारी, आध्यात्मिक लेखकहरू मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का र उद्धवप्रसाद भट्टराई हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू