अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

‘रुपै मोहनी’ गीत करोड दर्शकले हेरेको खुसिमा ‘शत्रु गते’ले केक काटेरै उत्सव मनायो

बिआरटीनेपाल २०७४ फागुन १० गते १२:४० मा प्रकाशित

फिल्म ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ लाई एक करोड भन्दा बढी दर्शकले रुचाएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)को उपस्थितिमा फिल्म युनिटले केक काटेको हो ।

गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् । राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए ।

उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए ।

सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

मदनकृष्ण श्रेष्ठ – गीतमा म देखिन पाइन् तर मलाइ यस फिल्मको गीतहरु निकै मन पर्छन । रुपै मोहनीमा हरि र दीपा बहिनि नाच्नु भएको छ , हेर्दा निकै रमाइलो हुन्छ । हाम्रो यो उत्सवलाई सेलिब्रेट गर्ने रेडियो अडियोलाइ पनि धन्यवाद । झन्डै हामी १७ वर्षपछी शत्रु गते लिएर आउदैछौ , फिल्ममा हाम्रै समाजको कथा छ । अघिल्ला फिल्म भन्दा यसमा म केहि भिन्न देखिएको छु र यस किसिमको भूमिकामा अब आगामी दिनमा पनि मलाइ सायदै देख्नु हुन्छ होला ।

हरिवंश आचार्य – मलाइ खासै नाच्न आउदैन , मैले केवल सहयोग मात्र गरेको हु । गीत कथा अनुसार नै फिल्ममा आउने भएकाले हामीले चाहेर पनि मदन दाई लाई त्यसमा राख्न सकेनौ । फिल्मलाई हामीले रमाइलो बनाउने कोसिश गरेका छौ , प्रदीपले निकै मेहनत गरेका छन् । जात्रा मार्फत आफुलाई प्रमाणित गरिसकेका प्रदीप , अनि दीपक दीपा , पलसंगै आँचल र किरण तथा शिवहरी सबैले निकै मेहनत गरेका छन् । यो गीत दीपाजीलाई छक्का पञ्जा सेरिजको लागि आएको रहेछ तर हामीलाई मन परेपछि उहाले यहि फिल्ममा राख्ने सहमति दिनु भयो । दीपक र दीपालाई पनि धन्यवाद ।

प्रदीप भट्टराई – फिल्मको गीतलाई रुचाइ दिनु भएकोमा निकै धन्यवाद । मदन दाई र हरि दाई मार्फत नै मैले यो क्षेत्रमा प्रवेश पाए , काम सिके आज उहालाई नै ठुलो पर्दामा निर्देशन गर्न पाउदा निकै हर्षित छु । डेब्यु फिल्म जात्र मार्फत पाएको बिश्वासलाई घटाउने होइन बढाउने काम गरेको जस्तो लागेको छ , बाकि त अब फिल्म हेरेपछि दर्शक मार्फत प्राप्त हुने प्रतिक्रियाकै पर्खाइमा छु ।

पल शाह – शत्रु गते टिमलाई धन्यवाद यसरि जन्मोत्सव मनाउन पाए । यस फिल्म मार्फत मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । सबै म भन्दा अग्रज र अनुभवी हुनुह्थ्यो , केहि अनुभव मलाइ पनि प्राप्त भयो । मैले सकेको मेहनत गरेको छु , आफ्नो भूमिकालाई न्याय दिने प्रयास रहेको छ । आश छ , तपाइको माया म प्रति यस फिल्मले अझै बढाउने छ ।

तस्वीर: आर्यन बिमली

 

 

प्रतिक्रिया