अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

तत्काल संघीय शिक्षा ऐन जारी गर्न ‘युएण्टो’को माग

बिआरटीनेपाल २०७४ फागुन ९ गते ३:५३ मा प्रकाशित

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । संगठनले स्थानीय तहहरुले आफुखुसी बनाउँदै आएको शिक्षा ऐनको बिरोध गरेको हो ।

मंगलवार पाँचौ राष्ट्रिय सम्मेलनको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै संगठनले पहिले संघीय शिक्षा ऐन बन्नुपर्ने, त्यसैको आधारमा प्रदेश शिक्षा ऐन र प्रदेश शिक्षा ऐनको आधारमा मात्रै स्थानीयतहहरुले शिक्षा ऐन बनाउनुपर्ने जनाएको हो । संघीय र प्रदेश ऐन नबन्दै स्थानीयतहहरुले शिक्षा ऐन बनाउनु गैर संवैधानिक भएको संगठनको ठहर छ ।

संगठनले शिक्षककर्मचारीका सम्पूर्ण पेशागत मागहरु पुरा गर्नुपर्ने, शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन सुनिश्चित गर्नुपर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा लगानी बढाउनुपर्नेलगायतका माग अघि सारेको छ । पाँचौं राष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको विकृति र विसंगतिको भण्डाफोर गर्ने, शिक्षामा भइरहेको निर्मम वैदेशिक हस्तक्षेपको प्रतिरोध गर्ने साथै, संगठनले छिट्टै समाजवादी शिक्षाको खाका तयार गर्ने निर्णय गरेको छ ।

संगठनका अध्यक्ष शंकर अधिकारीले तत्काल अन्तरिम शिक्षा ऐन जारी गर्नुपर्ने बताए । अधिकारीले शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गर्दै नयाँ संघीय शिक्षा शिक्षा ऐन जारी गर्न माग गरे । अधिकारीले आफूहरु शैक्षिक प्रणाली र नीतिहरुमा परिमार्जन र परिवर्तन गरी गुणात्मक शिक्षाको पक्षमा संघर्षरत रहने दाबी गरे ।अधिकारीले शिक्षककर्मचारीहरुले निजामतिको दाँजोमा निकै कम अवसर र सुविधा पाएको भन्दै त्यसलाई समान बनाउन संघर्ष गर्ने बताए । उनले संगठनले मुख्य गरेर समाजवादी शिक्षा नीति लागु गर्ने दिशामा नै आफ्नो कार्ययोजना केन्द्रीत गर्ने स्पष्ट पारे ।

संगठनका महासचिव निमबहादुर केसीले संगठनले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई निराकरण गर्नको लािग विशेष रुपान्तरण अभियान नै चलाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार पाँचौं राष्ट्रिय सम्मेलनले वामपन्थी शिक्षकहरुबीच एकता अभियान चलाउने, समाजवादी शिक्षा नीतिको कार्यदिशा शैक्षिक विकास अभियान, रुपान्तरण, अन्तराष्ट्रिय सम्वन्ध, उत्पादन र सहकारी, पेशागत समस्याको हल र संघर्ष तथा विज्ञान प्रविधिमैत्रि शिक्षक र शिक्षण सम्वन्धी विभिन्न अभियान सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको जानकारी दिए ।

फागुन ४ देखि ६ गतेसम्म राजधानीमा चलेको सम्मेलनले शंकर अधिकारीको नेतृत्वमा ९३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो भने थप ३५ जना मनोनित गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

शिक्षक संगठनले सोमवार सम्पन्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताको निर्णयलाई स्वागत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू