अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्न ‘अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण’ कार्यक्रम

बिआरटीनेपाल २०७४ माघ २७ गते ३:४६ मा प्रकाशित

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक काठमाडौँमा अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । होटल एशोसिएसन अफ नेपाल (हान)ले रेस्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल, सेफ एशोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो । 

शुक्रबार सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिनुभएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो । दुई सय ३३ नेपाली सेफ सहभागी भएको उक्त कार्यक्रममा डा रिकले नेपाली पकवान शास्त्रमा के–कस्ता आयाम थपिएका छन् र संसारका पकवान कलामा भित्रिएका नयाँ प्रविधि र कलालाई कसरी समिश्रण गरेर सेवालाई गुणस्तरीय बनाउने भन्नेबारे अभिमुखीकरण गराउनुभएको थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय सेफ एशोसिएसनका निर्देशकसमेत रहेका डा रिकलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानकोतर्फबाट सद्भावना दूत घोषणा गरिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र अभियन्ता वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले उहाँलाई सद्भावनादूतको नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो ।

डा रिक जुन देशमा पुग्छन् त्यहाँ नेपाली खानाको प्रचारप्रसार गर्नेछन् । कार्यक्रममा डा रिकले नेपालको परम्परागत खाना र खाना संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियन्ता शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको छ ।

नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन अभियानलाई प्रशिक्षण र सद्भावनादूतको जिम्मेवारीले महत्वपूर्ण सहयोग पुग्ने महासचिव शाहको भनाइ छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू