अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

नेसास, क्यानडाको वसन्त श्रवणसँगै १४ औँ वार्षिकोत्सव सम्पन्न

बिआरटीनेपाल २०७४ माघ १४ गते २०:५७ मा प्रकाशित


नेपाली साहित्य समाज, क्यानडाको १४ औँ वार्षिकोत्सव र वसन्त श्रवण गत शनिवार एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो । विगत १३ वर्षदेखि विद्याकी देवी सरस्वतीको पूजाआराधनासँगै बालबालिकालाई अक्षरराम्भ र काव्य वाचनका साथ मनाउँदै आएको वसन्त श्रवण कार्यक्रम टोरोन्टोको वेलेस्लीमा पुरोहित गोबिन्दप्रसाद पौडेलबाट सरस्वती पूजा र सरस्वती वन्दनाका साथ सुरु भएको थियो । त्यसपछि १५ जना बालबालिकाहरूबाट पहिलोपटक अक्षर लेखेर अक्षराम्भ गरिएको थियो । समाजका महासचिव रबिन थपलियाद्वारा सञ्चालित समाजको कार्यक्रममा मञ्चमा सभापति राख्ने परम्परा नरहेको भन्दै कार्यक्रमको प्रारम्भमा एनआरएन क्यानडाका अध्यक्ष तथा समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले सरस्वती पूजामाथि प्रकाश पार्नु भएको थियो । समाजका सल्लाहरका डा. तुलसी धरेलले स्वागत मन्तव्यका साथ समाजको परिचय दिनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणको काव्यातमक प्रस्तुतिमा राधिका अर्यालले शिक्षा र संस्था कविताका माध्यमबाट मानवीय यान्त्रिक जीवनमाथि व्यग्ंय कविता सुनाउनु भयो । गोविन्द घिमिरेले गहिराई कविताका माध्यमबाट मनभित्रबाट अभिव्यक्त सोन्दर्यताको बयान सुनाउनु भयो । प्रदिप पौडेलले अनुसन्धान कविताबाट मानवीय जीवनमा भोग्नु परेको यर्थाथताको सारांश सुनाउनु भयो । सिर्जना लम्सालले आफ्नो शीर्षक बिनाको कविताका माध्यमबाट अतीतका रमाइलो क्षणहरूको सम्झनालाई शब्दमा उतारेर सुनाउनु भयो । गोपीकृष्ण काफ्लेले घर कविताबाट घरको शब्दचित्र उतारेर घरप्रति मानिसले राख्ने गरेको जीवनरुपी अर्थबोध गराउनु भयो । रमेश थापाले आफ्नो विचारको ध्रुवपान कविताका माध्यमबाट मानवीय प्र्रवृतिका अनेक सिद्धान्तमाथि व्यंग्यवाण सुनाउनु भयो ।

रबिन थपलियाले म गलेको मान्छे कविताबाट मानिसको चरित्रको ६ वटा निराशका कारणहरूप्रति ध्यानाकर्षण गराउनु भयो । डा. गोविन्द रावतले मलाई फेरी प्रेम गर्न मन लागेको छ कविताका माध्यमबाट अतीतमा बिताएका प्रेमका क्षणहरूलाई ब्युताएर शब्दबाट प्रेमाभाष गराउनु भयो । त्यस्तै समाजका पूर्व अध्यक्ष कवि मुक्ति गौतमले टिमिन्स, अन्टारयिोबाट पठाउनु भएको र गोपी काफ्लेले वाचन गर्नु भएको श्रीमान् म नेपाली राष्ट्रिय चेतनायुक्त देशप्रतिको वात्सल्यताले ओतप्रोत भएको र आप्रवासमा भएका हामी नेपालीहरूको राष्ट्रप्रतिको आस्था उजागर गर्ने कविता सुनाउनु भएको थियो । कार्यक्रमलाई अझ रमाइलो र मनोरञ्जन बनाउन लिलानाथ पाण्डे, गोविन्द घिमिरे, विश्व बर्माले सुमधुर गीत सुनाउनु भएको थियो भने उपस्थित दर्शकहरूबाट पनि आफ्नो विद्यार्थी जीवनका पढेका र सुनेका देवकोटा र लेखनाथ पौडेलका कविताका टुक्राहरू वचन गरिएको थियो । कार्यक्रमको अन्त्यमा धन्यावाद ज्ञापन गर्दै डा. गोविन्द रावतले समाजले गर्दै आएको घरदैलो काव्य गोष्ठी, उत्तर अमेरिका काव्य सँग मगर्दै आएको र यस वर्ष जुन २ शनिवारका दिन नेपाल अमेरिका साहित्य प्रतिष्ठानसँग मिलेर अमेरिका र क्यानडाका साहित्यकारहरूको उपस्थितिमा क्यानडाको नियाग्रा फल्समा सीमा काव्य सङ्गम गर्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका सक्रिय सदस्य कवि अनुप न्योपाने र समाजका शुभचिन्तक अमित उपाध्यायका पितामय पार्थमणि उपाध्यायको ९१ वर्षको उमेरमा निधन भएकोमा स्वर्गीय उपाध्यायको चिरशान्तिको कामना गर्दै एक मिनटको मौनधारणसमेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू