अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

‘क्यान इन्फोटेक’मा अवलोकनकर्ताको उत्साह – आइतबार बिजनेश डे

बिआरटीनेपाल २०७४ माघ १४ गते २:३२ मा प्रकाशित

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकमा आज ८४,३२२ ले अवालोकन गरेका छन् । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोस्रो दिन ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीलाई आजसम्म १,५९,३२९ जनाले अवलोकन गरेका छन् ।

आज इन्फोटेकका अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुको भिड लागेको देखियो । पुर्ब उर्जा मन्त्री महेन्द्र बहादुर शाही, माननीय प्रकाश ज्वाला लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कलाकार, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिका साथमा प्रविधिपे्रमी उपभोक्ताको बाक्लो उपस्थिति रह्यो । सार्वजनिक बिदाको दिन भएकाले विद्यार्थी, पेशाकर्मी, व्यापारी एवं उपभोक्ताको बाक्लो उपस्थिति रह्यो । आइतबार बिजनेश डे भएकाले अवलोकनकर्ता उल्लेख्य संख्यामा आउने अपेक्षा हामीले गरेका छौं ।

यस मेलामा युवा उमेरका मात्र होइन, वृद्धवृद्धाको पनि बाक्लो उपस्थिति रहेको छ । क्यान इन्फोटेकले सबै उमेर समूहका व्यक्तिलाई आकर्षित गरेको देख्दा हामीले निकै गर्व महसुस गरेका छौं । अहिले गाँस, बास, कपासजस्तै सूचना तथा सञ्चार प्रविधि पनि आधारभूत आवश्यकता बनिसकेको यस मेलामा सहभागी दर्शकको भीडले नै पुष्टि गरेको छ ।
यस इन्फोटेकमा सहभागी कम्पनीले नयाँ–नयाँ प्रविधिसहितका उत्पादन सार्वजनिक गरेका छन् ।

विशेष गरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप-कम्प्युटरका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभ, सीसीटिभीलगायतका स्टल, आइटी ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

शनिबार पनि विभिन्न कम्पनीले आ–आफ्ना नयाँ उत्पादन, सेवा र आकर्षक उपभोक्ता योजनालाई निरन्तरता दिएका छन् । विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि इन्टरनेट र दूरसञ्चार स्वा प्रदायक, सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा दिने कम्पनीहरुले आफ्ना उपभोक्तालाई लक्षित गरी आकर्षक अफर ल्याएका छन् । सर्वसाधारणले एकै थलोबाट विश्वविख्यात ब्रान्डदेखि स्वदेशी प्रतिभाबाट निर्मित वस्तु र सेवाबारे भरपुर जानकारी लिन पाएका छन् । इन्फोटेक आयोजना गर्नुको मुख्य कारण नै नेपाली जनतालाई प्रविधिसँग साक्षात्कार गराउनु हो ।

मेलाकै अवसर पारेर सफ्टवेयर, स्टार्टअप, विद्यार्थी-कलेजको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । यसपटक हामीले आइटी स्टार्टअपहरुले स्थानीय समस्या समाधान गर्न बनाएका नवीनतम प्रविधिलाई विशेष प्राथमिकताका साथ इन्फोटेकमा राखेका छौं । विश्वविद्यालयस्तरमा भएका रिसर्च र त्यसबाट निर्माण भएका प्रोजेक्टहरु पनि राखिएको छ । बच्चा, विद्यार्थी, युवा पुस्ताले कसरी सफ्टवेयरबाट सिक्न सक्छन् भन्ने कुराको जानकारी अवलोकनकर्ताले लिन सक्छन् । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग भएका ड्रोन र रोबोटिक्स प्रविधिहरु पनि राखिएका छन् । यसर्थ इन्फोटेकले लोकल इन्नोभेसनलाई प्रोत्साहन मिलेको महसुस हामीले गरेका छौं ।

मेलामा पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने छ । शनिबार मेलाकै अवसरमा ‘रोबोट ब्याटल’ समेत आयोजना गरिएको थियो । साथै नेपाली युवा इन्जिनियरले बनाएका ड्रोन, गाडी, विद्युतीय मेशिन, सफ्टवेयर सिस्टम आदिमा अवलोकनकर्ताको चासो रहेको थियो । दृष्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएशनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका आइटी प्रोजेक्टले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । मेलाकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा हालसम्म १२४ जनाले रक्तदान गरेका छन् ।

 

आइतबार बिजनेश डे
माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । यस दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू