अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा’ नवौँ वर्षमा प्रवेश-सेवा लिने ६० लाख नाघे

बिआरटीनेपाल २०७४ माघ ११ गते २२:२५ मा प्रकाशित

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ नवौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जज (BETA VERSION )  रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवासुरु गरेको इसेवा नवौँ वर्षमा प्रवेश गरेको हो ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । नौ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ भने इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढि रहेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

नवौँ वर्ष प्रवेश गरेको उपलक्षमा कम्पनीका प्रेसिडेन्ट अस्गर अलीले भन्नुभयो “ विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि हामीले सेवा प्रदान गरिरहेका छौँ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने कार्यमा हाम्रो कम्पनी पायोनियर बन्न सकेकोमा हामी गौरवान्वित बनेका छौँ ” । नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको अलीको भनाईछ ।

आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडी बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको भनाई छ । इसेवाले यसैवर्ष नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत समेत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू