अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

छाउपडी गोठमा फेरी एक युवतीको मृत्यु

बिआरटीनेपाल २०७४ पुष २४ गते १९:०८ मा प्रकाशित

तुर्माखाद गाउँपालिका ३ भैरवस्थानको लकान्द्रामा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ । सोमबार छाउगोठमा २३ वर्षीया गौरी बुढा वयक मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरी टोली घटनास्थल पुगेको छ । कसरी ज्यान गयो भन्ने जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुनेछ,’ न्यौपानेले भने ।
छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै जिल्लामा दर्जनौं गैरसरकारी संस्था कार्यरत छन् । एक दशकदेखि महिला अधिकार क्षेत्रमा काम गर्दै आएकी पशुपति कुँवर एक्लै लागेर कुनै प्रतिफल प्राप्त गर्न नसकिने बताउँछिन् । ‘कुनै एनजीओ आईएनजीओले काम गरेजस्तो गरेर छाउपडी कुप्रथा हटदैन,’ उनले भनिन्, ‘यसलाई राजनीतिक मुद्दा बनाइएन । नेताहरू बोल्दैनन् ।’ स्थानीय नेता, वकिल र शिक्षकहरूले छाउपडीविरुद्ध खुलेर बोल्न नसकेको उनको आरोप छ ।

‘बर्सेनि अछाममा गोठमै ज्यान जाने गरेको सुन्दा म जस्ता अभियान चलाउँदै हिँडेका महिला नै थाक्नुपर्ने अवस्था आएको छ,’ उनले छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्नुपर्ने बताइन् । १० वर्षयता जिल्लामा ९ महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट ४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएको थियो । आजको कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू