अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

आइडिया फर नेपालको एजेण्डाः २० वर्षमै समृद्धिको आधार गर्ने लक्ष्य

बिआरटीनेपाल २०७४ असोज २६ गते ६:३८ मा प्रकाशित

नेपाली मौलिकतामा आधारित कृषि प्रणाली र उद्यमशीलताको विकास गर्ने उद्देश्यले ‘आइडिया फर नेपाल’ले बृहत परियोजना सार्वजनिक गरेको छ । नेपालमै सम्भावना खोज्ने र लाखौंलाई बृहत्तर रोजगारी दिने उद्देश्यले नै ‘आइडिया फर नेपाल’ले लगानी, विकास र उद्यमशीलताको अवधारणा ल्याएको हो ।

काठमाडौंको होटल ¥याडिसनमा आयोजित विशेष समारोहका बीच ‘आइडिया फर नेपाल’ले दुई दशकसम्मको योजना सार्वजनिक गरेको हो । ‘आइडिया फर नेपाल’का अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले संस्थाका कार्यक्रम सार्वजनिक गर्दै बहुपक्षीय परियोजनाको घोषणा गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको योजनामा जुम्ला, हुम्ला, मुगु, डोल्पा र मुस्ताङमा पाँच हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने कार्यक्रम रहेको छ। ‘बजारको समस्या छैन,’ श्रेष्ठले भने, ‘बंगलादेश निर्यातका लागि हामीले आवश्यक सम्झौता गर्दै छौं ।’

त्यसैगरी, कागती, मेवा र सेतो चन्दन उत्पादन गर्ने योजना पनि श्रेष्ठले सुनाएका छन् । ६५ जिल्लाका ३० लाख नागरिकलाई ४० वटाको दरले सेतो चन्दनका बिरुवा वितरण गरिने उनले बताएका छन् ।

त्यसैगरी, प्रविधितर्फ आइपी टिभी (आइडिया वर्ल्ड टिभी), मोबाइल एप्स, अन स्काई वाइफाई विस्तारको योजनामा आइडिया फर नेपाल रहेको छ । ‘हाम्रो लक्ष्य नेपालको समग्र आर्थिक उन्नति हो,’ उनले भने, ‘आमनागरिकलाई उद्यमशीलतासँगै सेवा पुर्याउने हाम्रो सोच हो ।’

यसअघि, आइडिया तथा क्रिएटर युनिभर्सलकी अन्तर्रा्ष्ट्रिय निर्देशक चिन चिन सेले कृषिको विकासलाई नेपालले मुख्य प्राथमिकतामा राखेर विकासलाई अघि बढाउनु पर्ने बताइन् । ‘नेपाल हरेक दृष्टिले राम्रो छ,’ उनले भनिन्, ‘लगानीको वातावरण बन्दै गएको छ, अब नेपाली समाज समृद्धिको बाटोमा अघि बढ्छ ।’

‘आइडिया फर नेपाल’की निर्देशक सुगरिका केसीले नेपालको भौगोलिक अवस्थितिका कारण पनि विकासका अनेक आयामलाई पहिचान गर्न आवश्यक रहेको धारणा राखेकी छिन् । केसीले नेपाली समाजको आर्थिक रुपान्तरणका लागि स्थानीयस्तरमै उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिइन् । ‘धेरै प्राकृतिक स्रोतसाधनको परिचालन हुन सकेको छैन, मुलुकको विकास हुन्छ भन्ने आशा गरिएको लामो समय भइसक्यो,’ केसीले भनिन्, ‘अब यो प्रतिक्षाको समय समाप्त भएको छ, हामीले मुलुकको समृद्धिका लागि विस्तृत योजना बनाएका छौँ ।’

कार्यक्रममा स्वागत गर्दै अर्का निर्देशक प्रकाश घिमिरेले नेपाल सम्भावना भएको मुलुक रहेकाले अब सम्भावनालाई यथार्थमा बदल्नु पर्ने बताएका छन् ।

कार्यक्रममा आइडिया फर नेपालका निर्देशकद्वय बाबुराम श्रेष्ठ र शिरोमणि दवाडीले आर्थिक समृद्धि र विकासको अवधारणामाथि चर्चा गर्दै नेपाली मौलिकतामा आधारित विकासको नीति अबलम्वन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू