अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

पूर्वमा ‘लाटीको छोरो’

बिआरटीनेपाल २०७४ असोज २६ गते ६:०९ मा प्रकाशित

 

काठमाडौंको मण्डला नाटकघरमा सफलतापूूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ । आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो ।

श्याम शाहको कथा ‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए ।

त्यस्तै नाटक ‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्किएका हुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् ।

यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ । शिवसताक्षीपछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानका लागि पनि कुराकानी भइरहेको तर पक्का भइनसकेको बताइएको छ ।

‘पहिलो कुरा सन्देशका हिसाबले पनि यो नाटक बलियो छ, दोश्रो हामी गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास होस् भन्ने चाहन्छौ,’ प्रकाशले भने, ‘त्यसैले काठमाडौंको रंगमञ्चको खास स्वाद हामी यो नाटकमार्फत पूर्वमा तपाईंहाम्रै घर आँगनमा पस्किने जर्मको गर्दैछौं । आफ्नो गाउँठाउँमा नाटक देखाउन चाहने कोही हुनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुुहुनेछ । ’

विर्तामोड मञ्चनका लागि हेल्पिङ हेन्ड्स, क्षतिज नाट्य समुह, सैनिक युुथ क्लबले सहकार्य गरेको छ भने ग्लोबल म्यानेजमेन्ड फाउन्डेसन सहयोग गरेको छ । त्यसैगरी शिवसताक्षी नगरमा मञ्चनका लागि स्थानिय संस्था कृपा नेपालले संयोजन गर्ने भएको छ ।

नेपालको तराईमा एउटा सुन्दर बजार भन्ने वस्ती छ । त्यस बस्तीभित्र विभिन्न स्थानबाट आएका मानिसहरु र आदिम कालदेखि त्यस बस्तीमा बस्दै आएका डोम समुदायको बसोबास छ । देशमा भैरहेको कुनै पनि राजनितिक उथलपथलले नछोएको सुन्दर बजारको आफ्नै रहनसहन छ । एकदिन त्यस बजारमा एउटी लाटी आइपुुग्छे । समय बित्दै जाँदा एकदिन लाटी गर्भवती भएको कुरा बजारमा फैलन्छ र बजारमा ठूलो तरंग उत्पन्न हुन्छ । त्यसपछि लाटीमाथि हुुने दुव्र्यवहार र विकास हुुने घटनाक्रम नाटकको मुल कथा हो ।

आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भुमिका निर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेता विषनाथको भुमिका निभाएका छन् । नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् ।

यो नाटक काठमाडौंमा भदौ २० गतेदेखि असोज ८ गतेसम्म मञ्चन भएको थियो । नाटकले त्यहाँ सर्वत्र प्रशंसा बटुलेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकारहरु विल्सनविक्रम राईं, गौरव पहारी, एड्रिन प्रधान लगायतले नाटक हेरिसकेपछि खुलेर प्रशंसा गरेका थिए । नाटकलाई सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गरेका हुन् ।

नाटक निर्माण टिम :
संस्था -आर्ट स्टुडियो
निर्माता -सफर पोखरेल, जिया लामा, अनिष नयौपाने
निर्देशक – सुलक्षण भारती
सहायक निर्देशक – अर्चना पन्थी
कथा – श्याम शाह
नाट्य आलेख – सुलक्षण भारती
संगीत – किसन श्रेष्ठ, सम्यक महर्जन
प्रकाश परिकल्पना – सुलक्षण भारती
लाइट सहयोगी – बालकृष्ण रिजाल
मञ्च परिकल्पना – सुलक्षण भारती
मञ्च निर्माण – सन्जिव राई
भेषभुुषा परिकल्पना – सुनुु राई
प्रोडक्सन डिजाइनर – प्रकाश दाहाल
मिडिया सल्लाहकार – अनिल यादव
आर्ट डिरेक्टर – दावा लामा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू