अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

एनआरएनए सम्मेलनमा जापानका छ जना उम्मेदवार

बिआरटीनेपाल २०७४ असोज ११ गते १३:३५ मा प्रकाशित

तीन सातापछि राजधानी काठमाडौँमा हुने गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट छ जना आकांक्षी भएका छन् ।

विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासिफिक संयोजक र उपसंयोजकका आकांक्षी देखिएका हुन् । नेपाल र नेपालीका लागि भन्दै एक दिन एक दान, अतिथिदेवोः भव, वैदेशिक रोजगारीमा बिमा, आपत्कालीन कोषको स्थापना, महिला फोरमलाई सक्रिय बनाउने लगायतका काममा सक्रिय भवन भट्टले सङ्घको भवन निर्माण र लाप्राक नमुना बस्ती निर्माणलाई निरन्तरता दिन अध्यक्षमा दाबी गरेको बताउनुहुन्छ ।

त्यस्तै लामो समयदेखि जापानलाई कर्मथलो बनाएका चिरञ्जीवी थापा राष्ट्रिय समन्वय परिषद् सदस्य सल्लाहकार कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्षका आकांक्षी हुनुहुन्छ । अघिल्ला सम्मेलनमा अध्यक्ष, कोषाध्यक्षको हारेको अनुभव भएकाले यो पटकको तयारी गतिलो हुने थापाको भनाइ छ ।

त्यस्तै दुई कार्यकाल कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय परिषद् युवा प्रतिनिधि हँुदै एक कार्यकाल उपाध्यक्ष भएका सुदन थापा अन्तर्राष्ट्रिय समन्वय समिति युवा संयोजकका आकांक्षी हुनुहुन्छ । जापानमा नेपाल महोत्सव, महजात्रा, धन्यवाद जापान लगायतमा सक्रिय हुनुभएका थापाले वैदेशिक रोजगारीका क्रममा युवाका समस्या समाधानका लागि उम्मेदवारी दिएको बताउनुभयो । एक कार्यकाल एसिया प्यासिफिक संयोजक रहनुभएका किरणविक्रम थापा पनि अर्र्को एक कार्यकालमा संयोजकका आकांक्षी हुनुहुन्छ । एसिया क्षेत्रका श्रमिकका पक्षमा गर्न नसकेका कामलाई प्राथमिकताकासाथ सम्पन्न गर्ने उहाँको भनाइ छ ।

संयोजक पदकै लागि एक कार्यकाल सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, उपाध्यक्ष हँुदै एसिया प्यासिफिक सहसंयोजक भइसक्नुभएका गोविन्दप्रसाद श्रेष्ठले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । एसिया प्यासिफिक उपसंयोजकका आकांक्षी पारसमणि पोखरेल पनि हुनुहुन्छ ।

असोज २८ देखि ३१ सम्म काठमाडौँमा हुने आठौँ सम्मेलनमा ७७ राष्ट्रका तीन हजारभन्दा बढीलाई चिनाउनसके फलिफाप नै होला । नत्र भने पर्यवेक्षक र प्रतिनिधि गरी २०० भन्दा बढी सहभागिता जनाउने अपेक्षा गरिएको सम्मेलन जापानका लागि अनर्थ हुनेछ । यो विषयमा अहिले जापान भर चर्चा हुने गरेको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू