अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

गायक शिव परियार सहित कलाकारहरूको विशेष प्रस्तुतिमा अमेरिकाको अस्टिनमा दशैं मनाईंदै

बिआरटीनेपाल २०७४ असोज ३ गते ५:०३ मा प्रकाशित

टेक्ससको राजधानी अस्टिनमा हिन्दुहरूको महान् चाड दसैँ सांस्कृतिक प्रस्तुति सहित धुमधामले मनाईने भएको छ । राजधानी अस्टिनमा रहेका नेपालीहरूको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजनामा विभिन्न कलाकारहरूको प्रस्तुति सहित विविध कार्यक्रमका साथ आउँदो सेप्टेम्बर २२ अर्थात् असोज ६ गते शुक्रवारका दिन दसैँ विशेष कार्यक्रम गर्न लागेको हो ।

नेपालका चर्चित गायक शिव परियार अतिथि कलाकारको रूपमा उपस्थित रहने कार्यक्रममा चलचित्रकर्मी नारायण पुरी, कलाकार सुवास थापा, बिनिता थापा लगायत स्थानीय कलाकारहरूले पनि गायन, नृत्य तथा नाटकमा आफ्नो प्रस्तुति दिने छन् भने सोही कार्यक्रममा सुभास थापा निर्देशित नाटक दसैँ एक्सप्रेश पनि मञ्चन गरिने छ ।

नेपाली कला संस्कृति र पर्वको महत्त्व दर्साउन खोजिएको कार्यक्रममा सहभागी हुनेहरुले सम्भव भएसम्म दौरा सुरुवाल, सारी चोलो अर्थात् विभिन्न जाती या क्षेत्र विशेष भेषभुषामा सजिएर आउन आयोजक सदस्यहरूले अनुरोध पनि गरेका छन् । दशैको शुभकामना आदान प्रदान सहित नेपाली भाईचारा र आत्मियताको सन्देश दिन खोजिएको कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी १० डलर प्रवेश शुल्क राखिएको भए पनि ५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथीका वृद्ध बृद्धाका लागि प्रवेश निःशुल्क गरिएको छ ।

सेप्टेम्बर २२ गते साँझ ६ बजेदेखि ११ बजेसम्म एशियन अमेरिकन रिशोर्स सेन्टरमा चेन्नाई क्याफेका तर्फबाट स्वादिष्ट खाना र मम सुपथ मूल्यमा बिक्री गर्ने जानकारी ग्रेटर अष्टिन नेपाली सोसाइटी अध्यक्ष देबराज न्यौपानेले दिएका छन् ।

प्रतिक्रिया