अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

बिआरटीनेपाल २०७४ भदौ २९ गते १२:२९ मा प्रकाशित

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।

कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारबाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोसिससमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबिच सप्तकोशी नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ ।

यसैबिच एमालेका अध्यक्ष केपी शर्मा ओली सो प्रदेशको स्थानीय तहको चुनावको सन्दर्भमा शुक्रवार जीतपुर, सिमरा र बर्दिबासका चुनावी सभामा सम्बोधन गर्नुहुने भएको छ । एमालेका वरिष्ठ नेता भलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत नेताले पनि तराईका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू