अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण

बिआरटीनेपाल २०७४ भदौ २६ गते २:१४ मा प्रकाशित

काठमाडौँ, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभएको छ ।

वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उहाँले राष्ट्रप्रमुखको हैसियतले फुल, प्रसाद तथा टीका ग्रहण गर्नुभएको हो । हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

भदौ २० गतेबाट औपचारिक रूपमा सुरु भएको इन्द्रजात्राको आइतबार समापनका क्रममा हनुमानढोकमा ठड्याइएकोे लिङ्गो राति १०ः४५ बजेको साइतमा पूजाआजाका साथ ढालिएको थियो ।
भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजासहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ ।

काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये इन्द्रजात्रा ठुलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखे, गणेश, भैरव र कुमारीको रथ यात्रामा घुमाइने चलन छ ।
करिब एक सातासम्म चल्ने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गरिन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू