अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

सिड्नीमा कविता कन्सर्ट भव्यताका साथ सम्पन्न

बिआरटीनेपाल २०७४ साउन १२ गते १८:५५ मा प्रकाशित

हेभ्भी बर्थ डे, खोया तथा सगरमाथाको गहिराई जस्ता चर्चित कविताका लेखक लोकप्रिय युवा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” सिड्नीमा भव्यताका साथ सम्पन्न भएको छ। २०४ औँ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले आयोजना गरेको “अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७” मा कवि पराजुलीले आफ्ना सहकर्मी बाँसुरी बादक सम्यक महर्जनका साथ सिड्नीका थुप्रै दर्शकहरुलाई मन्त्र मुग्ध बनाए ।

कवि नवराज पराजुलीले नेपाली भाषा र साहित्यमा कविता विधामा पुर्याएको योगदानको कदर गर्दै अनेसास एन एस डब्ल्यु अस्ट्रेलियाको तर्फबाट अनेसास केन्द्रका उपाध्यक्ष्य भीमसेन सापकोटा, नेपाली समुदायका अगुवा डा. नारायण प्रधान र अनेसास एन एस डब्ल्यु कि अध्यक्ष सानु घिमिरेले संयुक्त रूपमा खादा लगाई प्रशंसा पत्र प्रदान गर्दै अभिन्नदन गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा बाँसुरी बादक सम्यक महर्जनलाई पनि अभिनन्दन गरियो ।

२०७३ सालको मदन पुरस्कार र पद्मश्री पुरस्कारको लागि मनोनीत भएको बहुचर्चित कविता कृति “सगरमाथाको गहिराई” सङ्ग्रहको सगरमाथाको गहिराई शीर्षकबाट पराजुलीले कन्सर्टको आरम्भ गरका थिए । करिब एक घण्टा लामो उनको कविता वाचनमा सिड्नीका दर्शक तथा श्रोताहरु डुबेका देखिन्थे। सम्यक महर्जनको बाँसुरी तथा सिन्गिंग बलको तालमा पराजुलीले ६ वटा कविता वाचन गरेका थिए ।

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अस्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली पर्फमेन्स पोयट्रीबाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका हुन् । कार्यक्रमको अन्त्यमा सगरमाथाको गहिराई पुस्तकको हस्ताक्षर कार्यक्रम पनि भएको थियो ।

सिड्नीको एस्फिल्डको पोलिश क्लबमा २३ जुलाई आइतबारको दिन आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता अनेसास एन एस डब्ल्यु कि अध्यक्ष्य सानु घिमिरेले गरेकी थिइन भने सञ्चालन महासचिव महेशर शर्माले गरका थिए ।

अब पराजुलीको अर्को कार्यक्रम २८ जुलाईमा ब्रिसबेन, ३१ जुलाई मा एड्लेड र ५ अगस्टमा मेलबोर्नमा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू