अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

पोर्चुगलमा विश्वव्यापी गजल प्रतियोगिताको पुरस्कार घोषणासँगै २०४ औँ भानु जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २ गते २२:०६ मा प्रकाशित

वाई वि तमु, लिस्वन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलद्वारा राजधानी लिस्वनमा आयोजित एक कार्यक्रममा २०४ औँ भानु जयन्ति मनाउनुका साथै ” विश्वव्यापी गजल प्रतियोगिता २०१७” को विजेताहरुलाई पुरस्कार घोषणा तथा १० औँ रचना वाचन शृंखला कार्यक्रम सम्पन्न भएको छ ।

अनेसास पोर्चुगलका अध्यक्ष तथा गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष सुनिल संगमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गैर-आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य तथा लिस्वनका लागि पर्यटन दूत तथा अनेसास पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ रहेका थिए । 

कार्यक्रमको विधिवत उद्घाटन पश्चात् राष्ट्रिय गीत बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो । संस्थाका महासचिव अनुराग कंडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष बाइ वि गुरुङले मन्तव्य राख्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोर्चुगलका लागि पर्यटन दूत तथा गैर-आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रमेश कुमार गुरुङ तथा सभापति संस्थाका अध्यक्ष तथा गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष सुनिल संगम द्वयले दीप प्रज्वलन गरी संयुक्त रूपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला अर्प्रण गरिएको थियो । 

अनेसास पोर्चुगलद्वारा आयोजना गरेको उक्त अनलाइन गजल प्रतियोगितामा विजयी भएका गजलकारहरुको गजल पढेर सुनाइएको थियो । विश्वभर बाट करिब ५९ जना गजलकारहरुले सहभागी जनाएको उक्त प्रतियोगितामा उत्कृष्ट १० गजललाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट १० गजलहरु मध्ये पहिलो, दोस्रो र तेस्रो क्रमशः: लोकेश संघात युएई, गौतम मनिष बाग्लुङ्ग, सीता प्याकुरेल धादिङ्ग भएका थिए । उत्कृष्ट गजलकारहरुलाई नगद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो भने अन्य उत्कृष्ट १० गजलकारहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा पोर्चुगलमा रहेका साहित्यकारहरु वाईवि गुरुङ, कृष्ण कडेल “जिज्ञासु”, सञ्जय लामा, अनुरा कडेल, पोमु ल्हेमु शेर्पा लगायत अन्य साना-साना भाइ बैनिहरुले कविता तथा गजल प्रस्तुत गरेका थिए ।कार्यक्रममा अतिथिका तर्फबाट नेपाली नारी समाजकी अध्यक्ष तथा अनेसास पोर्चुगलकी सल्लाहकार सीता बरालले शुभ-कामना मन्तव्य राख्दै उत्कृष्ट १० गजल मध्यको चौथो र तेस्रो गजल प्रस्तुत गरेकी थिइन । राजधानी लिस्वन स्थित एभरेस्ट स्पोर्ट्स क्याफेको सभाहलमा सम्पान उक्त कार्यक्रममा निकै बाक्लो सङ्ख्यामा उपस्थित महानुभावहरुले कार्यक्रमको प्रशंसा गरेका थिए । 

कार्यक्रममा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो पुरस्कारको सौजन्य गरे बापत लिस्वनका लागि नेपाली बणिज्यदुत मकर बहादुर हमाल, नेपोन रेस्टुरेन्टका सञ्चालक प्रेम खड्का तथा गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष तथा पोर्चुगलका लागि नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि शम्भु गौतम त्रयलाई अनेसास,पोर्चुगलको तर्फबाट प्रसंशापत्र प्रदान गरिएको थियो भने सो गजल प्रतियोगिताका निर्णायक त्रय वरिष्ठ साहित्यकार डा, कृष्ण हरि बराल, रवि प्राञ्जल, तथा गोबर्धन पूजालाई समेत प्रशंसा-पत्र प्रदान गरिएको थियो । 

कार्यक्रमको अन्त्यमा अनेसास पोर्चुगलका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिल संगमद्वारा उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद सहित विश्वभरिबाट उक्त प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण प्रतियोगीहरुलाई धन्यवाद सहित उत्कृष्ट १० स्थानमा छनोट हुन सफल भएका प्रतियोगीहरुलाई विशेष धन्यवाद दिँदै कार्यक्रमको विसर्जन गरिएको थियो। 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू