अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

पाँच वर्षमा फलाममा आत्मनिर्भर हुन्छौंः मन्त्री जोशी

बिआरटीनेपाल २०७३ चैत ३० गते १०:२८ मा प्रकाशित

विद्रोही गिरी, नवलपरासी ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले पाँच वर्ष भित्रमा फलाममा देश आत्मनिर्भर हुने बताउनु भएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिका – ५ पोखरीमा फलाम खानीको विस्तृत भौगर्भिक अध्ययन तथा सर्भे कार्यको बुधवार निरिक्षण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

वि.स २०६६/०६७ सालमा कोइला खानीको अन्वेषणको क्रममा यहाँ फलाम खानी भएको पत्ता लागेको थियो । यो फलाम खानी देशकै ठुलो फलाम खानी भएकाले समृद्धिको आधार पनि यहाँबाट तय हुने मन्त्री जोशीले बताउनु भयो । पूर्व पश्चिम राजमार्गको डण्डाबाट २१ किलोमिटर भित्र रहेको यो फलाम खानी १३०० मिटर अग्लो क्षेत्रमा फैलिएको छ । यहाँ आउने पूर्वाधार विकासमा सरकार लागेकाले सडक, खानेपानी, बिद्युतीकरणमा सरकारको ध्यान गएको उहाँले बताउनु भयो । 

फलामको प्रशोधन यही ठाउँमा गर्ने भएकाले पाँच हजार मान्छेले ३५ वर्ष सम्म रोजगार पाउने समेत उहाँले बताउनु भयो । यहाँको स्टिल उद्योगले पहिलो रोजगार दिन्छ त्यसमा स्थानीय गाउँलेलाई प्राथमिकता हुन्छ उहाँले भन्नुभयो –‘राष्ट्रको समृद्धिमा ठुलो सहयोग यो खानीले गर्छ त्यसैले यहाँ तीन वर्ष भित्र बिजुली पानीको व्यवस्था गरेरै छाड्छौं’।

पहिलो पटक खनिज नीति निर्माणको चरणमा मन्त्रालयले काम गरी अगाडि बढाएको छ मन्त्री जोशीले भन्नुभयो –‘नीति बनेपछि उद्योग स्थापना र प्रशोधनको कामले तीव्रता लिन्छ’। १० किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीलाई पाँच भागमा बिभाजन गरी निजी क्षेत्रलाई पनि आमन्त्रण गरी काम गरिने उहाँले बताउनु भयो । मूल्य निर्धारण गरेपछि राजश्वको ग्यारेन्टी गरी निजी क्षेत्रलाई पनि सहभागी गराउने उहाँको भनाई छ ।

यहाँको पहाडमा नमुना परीक्षणमा ५८ प्रतिशत हेमटाइड रहेकोले यो उत्तम मानिन्छ । राजमार्गबाट नजिक र ठुलो परिमाणमा भएकाले यसको उत्खनन सम्भव भएको अन्वेषणमा खटिएका भूगर्भविद् नारायण बाँस्कोटाले बताउनु भयो । आर्थिक वर्ष २०७३/०७४ को यो अवधिमा ८३ दिन लगातार काम गरेर ४७ वटा नमुना सङ्कलन सहित हेमटाइड बेड ट्रास भएको र यसको रासायनिक परीक्षण भइरहेको उहाँले बताउनु भयो ।
पोखरीको क्षेत्रमा दुई ठाउँमा ड्रिलिङ्गको काम भइरहेको छ । यसमा ७५ मिटर क्रोइङ्ग गरी नमुना परीक्षण जारी राखिएको छ खानी तथा भूगर्भ विभाग धातु अन्वेषण शाखाका प्रमुख धर्मराज खड्काले बताउनु भयो ।

फलाम खानी सञ्चालनमा आउने खबरले उत्साही भए पनि यसले पार्ने असरलाई सरकारले बेलैमा सम्बोधन गर्न स्थानीय चन्द्रबहादुर रानाले आग्रह गर्नुभयो । एक वर्ष अगाडि तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले स्थानीयको मागलाई सम्बोध गरेर खानीको कामलाई अगाडि बढाउने आश्वासन दिएको भए पनि सडक निर्माणको लागि रु सात करोड रकम मात्र परेको स्थानीय अगुवा नुराचन्द्र पाण्डेले बताउनु भयो । मन्त्रीहरुको आश्वासन काममा देखिदा यहाँको मुहार फेरिन्छ उहाँले थप्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू