अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

थिएटर मल ‘बेड नं. ९९’ अन्तिम सातामा

बिआरटीनेपाल २०७३ माघ २५ गते १:२१ मा प्रकाशित

काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बेड नं. ९९’ अन्तिम सातामा पुगेको छ । माघ ७ गतेदेखि नियमित मञ्चन सुरु भएको नाटक महेशविक्रम शाहको कथामा आधारित छ । नाटक यही माघ २९ शनिबार सम्म मञ्चन हुनेछ ।

यसअघि एकल अभिनयात्मक नाटक गरिरहेका निर्देशक घनश्याम श्रेष्ठले यस नाटकमा १५ जना कलाकार मञ्चमा उतारेका छन् । पात्रहरुको मनोवैज्ञानिक चिरफार गरिएको नाटकलाई दर्शकहरुले मन पराएको निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘बेड नं ९९ मा मैले पात्रहरुको मनोदशालाई नाटकीय शीलपका साथ कलात्मक र मनोरञ्जक बनाउने प्रयास गरेको छु ।’

मदन पुरस्कार प्राप्त कथाकार शाहको सिपाहीकी स्वास्नी कथासंग्रहमा संग्रहित कथालाई निर्देशक श्रेष्ठले नाटकको परिकल्पना गरेका हुन् । ‘बेड नं ९९’ एउटा मानसिक अस्पतालको कथा हो जहाँ शंका, भ्रम र आत्मसम्मान तथा हिनातावोधको चिरफार गरिन्छ । ९९ भन्दा पहिले भर्ना भएका बेड नं ९८ को मानसिक दशालाई नाटकले विस्तार गर्छ र संगै क्याविनमा रहेका दुई विरामीको वार्तालापबाट सुरु हुने नाटकले अन्त्यमा ९८ को उपचारमा सफलता हात पार्छ र ९९ को वास्तविक परिचयले दर्शकहरुलाई चकित तुल्याउँछ ।

नाटकमा पात्रहरुको आन्तरिक द्वन्द्व र मानसिक अवस्थालाई मञ्चमै प्रस्तुत गर्न जटिल कार्य हो तर यस नाटकमा ती अमूर्त भावहरुलाई पनि कलात्मक रुपमा प्रस्तुत गरिएको छ । पछिल्लो समय संवादप्रदान नाटकहरुको बाहुल्य रहेको बेला थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको यो नाटक भने दृश्यप्रधान छ । कतिपय दृश्यहरु संवादविहिन छन् तर त्यही दृश्य नाटकको शक्तिशाली पक्ष हुन् जसले कथावाचनलाई झन् बलियो बनाएको छ ।

पात्रहरुको मानसिक अवस्था तथा मनोभावलाई कोरसको र संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ । ती दृश्यमा संयोजन गरिएको प्रकाशले मञ्चलाई अलौकिक र कलात्मक बनाउन सघाएको छ । प्रकाश परिकल्पनाले दर्शकलाई मन छुन्छ नै अनि पात्रकै मनोदशामा पु¥याउछ नै ।

नाटक ‘बेड नं ९९’मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी महर्जन, श्रीनेहा पोखरेल, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला डंगोल लगायतले अभिनय गरेका छन् ।

त्यस्तै नेपथ्यमा राजेन्द्रको प्रकाश परिचालन, अमुल श्रेष्ठको संगीत परिचालन, निर्देशक श्रेष्ठकै मञ्च तथा प्रकाश परिकल्पना नाटकको विशेष पाटो हो । मञ्चलाई अस्पतालको स्वरुप दिन निर्देशक सफल छन् । थिएटर मल नाटकघरमा यस नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि हुने नाटकघरले जनाएको छ ।

थिएटर मलमा आगामी नाटक फागुन १३ देखि नाटक ‘मान भर्सेस मती’ मञ्चन हुनेछ । सो नाटकलाई थिएटर मलका कला निर्देशक केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू