नेपालगन्ज र कम्दीका बिभिन्न स्थानबाट विद्युत चोरीको अभियोगमा १७ जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिबाट एकलाख ७५ हजार रुपिया राजश्व संकलन भएको विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्यूत प्राधिकरण नेपालगन्ज वितरण शाखाले बिद्युत चुहावट नियन्त्रण अभियानलाई तीब्रता दिएको जनाएको छ । सोही क्रममा सोमबार बिहान नेपालन्ंज वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलीले कम्दीको लग्दहवा र नेपालगन्ज २६ वसुदेवपुरमा छापा मारी विद्युत चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।
नेपाल विद्यूत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेश कुमार झाले विद्यूत् चुहावट नियन्त्रणमा आए गर्मी महिनामा लोडसेडिङ कम हुने जानकारी दिए ।
चालू आर्थिक बर्षमा हालसम्म जरिवाना बापत २९ लाख २४ हजार राजस्व असुली भएको प्रमुख झाले जानकारी दिए । यो अवधिमा बिद्यूत चोर्ने २ सय ३२ जना कारबाहीमा समेत परेको प्रमुख झाले जानकारी दिए ।