अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

राजा ज्ञानेन्द्रलाई खुल्ला पत्र : दरबार हत्याकाण्डको भूत देखाएर तर्साउनेसगं सामना गर्न तयार रहनुस – रमा सिंह

बिआरटीनेपाल २०७३ पुष १७ गते २३:४४ मा प्रकाशित

नेपाल बनाउने, जोगाउने शाह बंशका प्रतिनिधि
ज्ञानेन्द्र सरकार , प्रणाम।

अङ्रेजी नयाँ वर्षको शुभकामना सहित सिधै विषय प्रवेश गर्न अनुमति चाहन्छु ।

आधुनिक नेपालको रचयिता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको साँढे दुई शताव्दी लामो उत्तराधिकारीत्वको ओझपूर्ण इतिहासको विरासत थामीरहनु भएकोमा आम जनताको तर्फबाट कोटी कोटी साधुबाद टक्रयाउन चहान्छु पछिल्लो पट्क पौष ६ गते आम जनताको मनको भावनालाई प्रतिनिधित्व गर्दै जारी सारगर्भित विज्ञप्तिका लागि विशेष धन्यवाद छ । जन जनको मनको कुरा बोलिदिएर देशको राष्ट्रियता माथिको खतरा टार्न हजुरबाट भएको सावधानिका लागि म जस्तै धेरै जनता कृतज्ञ छन् । हिमाल, तराई र पहाडको सदिऔं देखिको एकता खल्ब्ल्याउने गरी हाल तथाकथित सङ्घीयताका नाममा भइरहेको अवैज्ञानिक र जनभावना विपरीतको बिभाजनको विरुद्ध यहाँको खबरदारीका लागि पूर्व मेचीदेखि पश्चिम महाकाली लगायत विश्वका कुनाकाप्चामा रहेका नेपाली जनता आत्मै देखि कृतज्ञ छौँ, रहिरहने पनि छौँ ।

सदा लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई श्रीपेच पहिरिएर पनि वा श्रीपेच नेपाल सरकारलाई जिम्मा लाएर पनि जनता रोएका बेला, जनता रिसाएका बेला, हेपिएका, थिचिएका र अन्यायमा परेका बेला हजुरबाट भएको होशीयारी शाहवंशीय राजा महाराजाहरुबाट व्यक्त हुने देशभक्तिको गाथा हो, जनताप्रतिको जवाफदेहितापूर्ण जिम्मेवारीवोध हो पछिल्लो बक्तब्य ।

यसले अशान्ती, कलह र बिभाजनको अन्त्य तथा जनताको एकतावद्ध संर्घष र प्रतिरोधका खातिर असल राजकीय अविभावकत्व जनताले पाएको महसुस गरेका छन् । यस अर्थमा जनता हजुरको विज्ञप्ति र बोलीमा सर्मथन जनाउदै तपाईप्रति धन्यवाद ज्ञापन गर्दछन् । उचित समयमा सम्पूर्ण जनता, सरकार र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई नै मार्गनिर्देश गर्नेगरी आएको विज्ञप्तिले देशलाई बिखण्डन, कलह र अशान्तीमा होम्न उद्धतहरु सबैको मुटुमा ढयांग्रो ठोकेको छ । त्यसैले त उनीहरू तार्किक रूपले प्रतिवाद गर्न नसकेर दरबार हत्याकाण्ड २०५८ जेठ १९ को भूत देखाएर तर्साउन क्याबिनेटमा छलफलको कलाबिहिन नाटक गर्दैछन । यसमा कोही किन डराउनु छ र ? त्यसैले ढुक्कसंग प्रतिशोधका हुंकार गर्नेहरुको सामना गर्न तयार रहनुस, जनता तपाईँको साथमै छन्, रहीरहनेछन ।

विज्ञप्तिबाट भयभित, त्रसित र आतंकित हुनेले त्यही दरबार हत्याकाण्डको पुनः छानबिनको घुर्की देखाएर वत्तव्यको मर्म र भाव र उदेश्यमाथी विषयान्तर गर्ने कुचेष्टा गरेका छन् ।

ह्जुरले जनताका मन मनमा राज गर्ने राजा वीरेन्द्रको त्यो नृसंस हत्याकाण्डपछि उतिबेलाको संविधान, राजपरम्परा र धर्म अनुसार महाराजाधिराजको जिम्मेवारी पुरा गर्दाका दौरान नै तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्याधिश विश्वनाथ उपाध्याय र विपक्षी दलका नेता माधव नेपाल सम्मिलित स्वतन्त्र छानविन समिति बनाएर त्यसको सत्य तथ्य सार्वजनिक गरिदिनु भएकै हो । बिना कुनै अवरोध र हस्तक्षेप आफ्नो कमिटीले छानविन गरी प्रतिवेदन सार्वजनिक गरेको कुरा तारानाथ रानाभाट र स्व. विश्वनाथ श्रीमानले भनेकै हो । छानविन समितिमा बस्नै अस्वीकार गरेका माधव नेपालको त कुरा गर्नु बेकार छ ।

यदि हजुरमा निर्भीक आँट र साहस अनि जिम्मेवारीवोध नभएको भए त्यो हत्याकाण्डको छानविन नै हुन असम्भव थियो । तर एकातिर पारिवारिक वियोग र अर्कोतिर देश र जनताप्रतिको जिम्मेवारीका वीचत्यो दुखद ऐतिहासिक कार्यभार पुरा गरिसक्नु भएकै हो । त्यसैले अब फेरि छानविनको डर देखाएर तर्साउन खोज्छन भने ढुक्क हुनुहोस आकाशतिर फर्केर थुक्नेहरूको हविगत के हुन्छ ? प्रतिवेदनको निष्कर्षका बारेमा जनताका मनमा रहेका आशंका वा बिमतिहरु फरक फरक पाटो हुन तर सत्य कहिले डग्दैन , लुक्दैन पनि ,नैतिक उचाइको जगमा उभिने मान्छेले नै निर्धक्कसंग सत्य ओकल्न सक्छ । पछिल्लो वक्तव्यले ओकलेको सत्यबाट तर्सिनेहरुलाई २०६५ जेठ २९ गते नारायणहिटी राजदरवारबाट राजदण्ड जनतालाई सुम्पेर निस्कनु अघि पनि अन्तिम शाही सम्बोधन स्पष्टै पारिदिनु भएको हो । त्यो दुर्लभ विशेष सम्बोधनमा दरबार हत्याकाण्डले आफूमा पारेको चोट, क्षति र पीडा अनि आफूले दुखको आहालमा बसेर निर्वाह गरेको ऐतिहासिक भूमिका जीवन्त इतिहास हो । त्यो इतिहासमा धावा बोल्न खोज्नेहरु आफैँ बिलाएर जानेछन्, समयले सबै देखाउने छ ।

कथित गणतन्त्र नेपालको पहिलो झन्डा नारायाणहिटीमा फहराउदै गर्दा स्व. गिरीजाप्रसाद कोइरालाले, पहिलो गणतान्त्रिक प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल उर्फ प्रचण्ड र गणतन्त्रकालका पहिलो एमाले प्रधानमन्त्री माधव नेपालले पट्क पट्क वाचा गरेर पनि दरबार हत्याकाण्डको फाइल खोल्न नसकेकै हुन । के पी ओलीले २०५० जेठ ३ मा मारिएका मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रतिवेदन आफैँ तयार गरेर नेताद्धयको हत्या भएको निष्कर्ष निकाले । तर आफैँ प्रधानमन्त्री भएका बेला खै के गरे ? माधव नेपालको १९ महिने वा झलनाथ खनालको ६ महिने सत्ताकालमा पनि यो विषय उठेन । मदनपत्नी विद्यादेवी भण्डारी नै राष्टपति भएका बेलामा दासढुंगाको कुरा किन उठदैन ?

यसैले सिद्ध गर्छ यी सबै त सत्तामा जाने भरयांग मुद्धा मात्रै हुन । प्रचण्ड पहिलो पार्टीका प्रधानमन्त्री हुँदा सेनाप्रमुखसंग सिंगौरी खेल्न नसक्दै भगौडा बनेको तथ्यले नै उनको पछिल्लो पट्क दरबार हत्याकाण्डको छानविन गर्ने धम्की नमच्चिने पींगको सय झट्का भन्या जस्तै मलाई लाग्छ ।

आफू सत्तामा हुँदा सिन्को भाँच्न नसक्नेहरूले अहिले राजाले जनताको बोली बोल्दा सात्तो हराएको बालक झैँ रुवावासी गर्दछन्। जनताले यत्ति बुझेका छन् की, कुकुर भुक्दै गर्छन्, हात्ती लम्कदै गर्छ । आफ्ना असफल शासन सत्ताको ढाकछोप र असफलताहरुको विषयान्तरका लागि यस्ता बेतुकको बेमौसमी हुकार हाक्नेहरु आफै पानीको फोका बनेर बिलाउनेछन हामीले किन चिन्ता लिने ?

बरु, देशको शासनसत्ताको साँचो नयाँदिल्लीतिर छ भनेर प्रधानमन्त्रीको कुर्सीमा हुँदै बोलेर देशको सत्ता विदेशीका सामु सुम्पने दिल्लीका विद्यावारिधीवालाले गरेको शाव्दिक विषवमन वा प्रचण्ड क्याविनेटमा गएको भूईचालोले वक्तव्यको शक्ति र ऊर्जाको अकाट्य क्षमता सिद्ध गरिसकेको छ । त्यसैले सहरमा स्याल हुईईया मच्चाएर सत्ताको आयु र लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने अवधि लम्व्याउन अहोरात्र खटिनेहरुलाई जनताले समयमा ठेगान लगाउने नै छन् । जनतालाई बेला बेलामा यसै गरी दिशानिर्देश गर्न भने नभुलिदिनु होला ।

एकाध महिना अघि विराट हिन्दु सम्मेलनको उदघाटन सम्बोधनका क्रममा हजुरले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिएको प्रसङ्ग होस वा त्यसअघि बडा दसैँको शुभकामना सन्देशमा जनताले के पाए भनेर सोधेका दर्जनौं संगिन प्रश्नहरुले होस, असंवैधानिक रूपमा राजसंस्थालाई पाखा लगाएर शासन सत्तामा एकलौटी गर्नेहरुको होस हवास उडीसकेको छ । जति धेरै दलीय विरोध होला हजुरको वक्तव्यको उति नै धेरै औचित्य र सार्थकता पुष्टि हुँदै जान्छ ।

तर यति हुँदा हुँदै पनि मैले तमाम राजतन्त्रप्रेमी जनमानसका तर्फबाट केही बिन्ती भने बिसाउनै पर्ने भएको छ । २०६३ को परिवर्तन जनताका लागि हात लाग्यो शून्य भएको, देशको एकतामाथि धावा बोलिएको, शान्ति अरू बिथोलिएको, विदेशी डिजाइनका अस्थायी सत्ताले जनतामा निराशा थपेको वा देशै नरहने की भन्ने संगिन मोडमा राष्ट पगेका बेला अब हामी नेपालीले के गर्ने त ?

कुन बाटोबाट अघि बढ्ने त ?
के हुन हाम्रा जनपक्षिय मार्ग, नीति थिति र उदेश्यहरु ?
यसबारेमा पनि एक विश्वसनीय रोडम्याप पो दिने हो की ?

ओपन सेक्रेट हो की दिल्लीमा गरिएको देशघाती १२ बुँदे सम्झौता र जनआन्दोलन २०६३ मा कहीकतै पनि गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको कुरा उठेको थिएन । बरु हजुरले जनताको नासो जनतालाई फिर्ता दिईदै गर्दा पुर्नस्थापित तत्कालीन प्रतिनिधि सभाको एकमतले २०६४ जेठ ४ को संसद् घोषणाबाट राजसंस्थाको निरन्तरता सम्बन्धी युगिन घोषणाहरू गरेको थियो । नेपाली म्याग्नाकात्र्राको उपमा पाएको जेठ ४ को संसद् घोषणको कार्यान्वयन गर भनेर पो एजेण्डा पेस गर्ने की हाम्रा तर्फबाट ?

वा २०४७ को सविधान पुर्नस्थापनाको मुख्य माग राखेर नयाँ आन्दोलनको थालनी गर्ने की ? वा यसै शासन व्यवस्थालाई उपयोग गर्दै यहीबाट जनताबाट दुई तिहाई बहुमत ल्याएर अनि वर्तमान कथित संविधानको खारेजी र नयाँ संविधानको प्रवन्ध गर्ने की ? यी र यस्ता धेरै कार्यलक्ष्यहरु प्रति आफ्नै तहबाट नयाँ निकास दिने बेला पनि आयो कि ? यो किन जरुरी ठान्छु भने यथास्थितिको व्याख्या त हजुरका पछिल्ला वक्तव्यहरु हुन । तर यथास्थितिको तितो चित्रणका साथ अग्रगमनको जनमुखी र देशभक्तपथ पनि अब जनताका लागि अत्यावश्यक भैसकेको छ जस्तो मलाई लाग्छ ?

तथाकथित परिवर्तन, अग्रगमन, लोकतन्त्र र गणतन्त्र जनताका लागि दुर्भाग्यपूर्ण साबित भएको सत्य साँच्चो हो । घरघरका जनता बरु राजै ठिक त भनिरहेकै छन् । तर यसको विकल्पमा पनि एकताको सूत्रधार राजसंस्थाको आगामी बाटो र प्रक्रियाका बारेमा पनि स्पष्ट कार्यलक्ष्य सहित स्पष्ट मार्गचित्र दिने बेला पनि भएको छ । त्यसैले अब आवश्यक परामर्श र योजना तर्जुमातिर पनि पहल गर्ने हो की ?

राप्रपा नेपाल नामक दलले एकीकृत राप्रपा हुँदै गर्दा राजतन्त्रको मुद्धा नै महाधिवेशनसममका लागि भनेर गरेको स्थगनलाई कसरी लिनु भएको छ कुन्नि ? तर जनताले त यसलाई सत्तालिप्साको नयाँ अवसरवादका रूपमा लिएका छन् । यसले पनि खाँटी राजावादीहरुको नयाँ राजनीतिक शक्ति उदयको अवश्यकतालाई औल्याएको छ की ?

हर नेपालीलाई मात्रै किन र हिन्दुस्तानदेखि संसारलाई थाहा छ नेपालको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र केवल भ्रष्ट नेताका लागि बाँदरलाई लिस्नु मात्रै भएको छ । तर संसारमै चीन, भियतनाम, भेनेजुयला , पेरु वा क्यूवामा भन्दा पर त्यही प्रजातन्त्रको विकल्प स्वयम् साम्यवाद पनि हुन नसकेको आलोकमा गुमेको राजसंस्थाको पुर्नस्थापनाका लागि त्यही प्रजातन्त्र कै बाटो अवलम्बन गर्ने हो की ? आखिर संसारकै खराब भएर पनि प्रजातन्त्रको बाटो नै निर्विकल्प रहेको तथ्यलाई हामीले पनि नजरअन्दाज गर्न मिल्दैन । प्रजातन्त्रको विश्वव्यापी मोडल र नेपाली भूधरातलीय यथार्थको जनचाहना अनुरूपको राजसंस्थालाई कसरी २१ औँ शताव्दीको युगानुकुल गर्ने त ?

काँग्रेस, एमाले वा स्वयम् माओवादीमा पनि छन् देशभक्त राजभक्तहरू , राप्रपापथ पनि लिन नसक्ने, अन्य दलको ओत लाग्न पनि नसक्ने, राजसंस्थाको पक्षमा पनि रहेका तर सडकमा निस्केर नारा, जुलुस र आन्दोलन गर्न पनि नसक्ने देशैभरका घर बस्ती र विदेशसम्म रहेका जनमनहरुलाई कसरी नेतृत्व दिने त ? यसबारेमा पनि हामीले सोच्नै पर्छ ।

नेपाली मात्रका प्रिय राजा,
यी कुराहरू मैले बहसकै लागि पेस गरेकी हुँ । माओवादीहरुको सत्ता दम्भको कोपभाजनमा परेर बिदेशिएका हजारौँ देशभक्तहरू स्वदेश फर्केर देश बचाउने कदममा साथ दिन तयार छन् । प्राण रहुन्जेल देश जोगाउन तत्पर जनमनलाई एकत्रित गरेर नेपाली एकताको पुर्नताजगी, शान्ति बहाली र सम्वृद्धि यात्राको लामो यात्रामा सबै नेपालीलाई यात्री बनाऔ अब ढिलो नगरौं, हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने ?
यसपटकलाई यो मेरो पहिलो पत्रभेट यतिमै वीट मार्न आज्ञा चहान्छु । पत्रगत भेटमा आवश्यकताअनुसार हाजिर हुने वाचा गर्दछु । लेखनमा कुनै त्रुटी भए, अज्ञानी सम्झेर माफ होस, कुरा सही लागेमा सुनुवाइ हुने अपेक्षामा रहेकी छु ।

– रमा सिंह
हाल अमेरिका

प्रतिक्रिया