अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

मेलमिलापका लागि विष्टको अपिल

बिआरटीनेपाल २०७३ पुष १६ गते २३:२० मा प्रकाशित

नेपाली जन सम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले समितिभित्रका आपसी तिक्तता र विमतिलाई भुल्दै मेलमिलापका लागि अपिल गर्नु भएको छ | विष्टले ४१ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी सङ्गठनको बृहत्तर हितका लागि भाईचारा,सौहाद्रता र आत्मीय सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्न सम्बन्धित सबै पक्षलाई अपिल गर्नु भएको हो | जन सम्पर्क समितिभित्र बढ्दो मतभेदका कारण समितिका शुभेच्छुकहरु निकै चिन्तित छन् | यस्तो अवस्थामा मेलमिलाप र सहकार्यका लागि सभापति विष्टले महामानव वीपी कोइरालाले चालिस वर्ष पहिले आजैका दिन घोषणा गर्नु भएको राष्ट्रिय एकता र मेलमिलाप दिवसलाई स्मरण गर्दै आपसी मेलमिलापमा जोड दिनु भएको हो |

आफू खुला ह्रदयले सबैसँग हातेमालो गरी अघि बढ्न सधैँ उत्साहित रहेको उल्लेख गर्दै सभापति विष्टले उल्लेख गर्नु भएको छ,’ हामीबीचमा कुनै विषय वा असमझदारी भए सङ्गठनको प्रक्रियाभित्र बसेर छलफल गरौँ र प्रक्रियागत छलफलबाट समाधान गर्दै अघि बढौं | सबैले आफूमा भएका कमी कमजोरीको खुल्ला हृदयले आत्मालोचना गरौँ र एकताबद्ध भई आजको यस ऐतिहासिक दिनमा प्रण गरौँ हामी सबै सङ्गठनको बृहत्तर हितका लागि प्रतिबद्ध भएर अघि बढ्नेछौं | त्यसैले सबैलाई म यो ऐतिहासिक दिनको महत्वलाई आत्मसात गर्न स्मरण गराउँदछु |’

उहाँले ‘हामीले अब ढिलाइ नगरी अझ बढी मेलमिलाप र भाईचारा कायम गरी सन्देश दिनुपर्ने समय आएको छ | यसका लागि आजको यस ऐतिहासिक दिनलाई अवसरका रूपमा लिऔं’ भन्नुभएको छ |

अहिले समितिका केही पदाधिकारी र सदस्यहरू आपसी बेमेल देखाई समितिका गतिविधि बाहिर रहेका छन् | यस्तो अवस्थामा सभापति विष्टको यो अपिलले सहकार्य,भाइचारा,मेलमिलाप र आन्तरिक एकतालाई प्रगाढ बनाउन र सबैलाई आपसी मनमुटाव त्यागी एक हुन बल पुग्ने अपेक्षा गरिएको छ |

यस्तो छ विज्ञप्तिको पूर्ण विवरण :
आज एक ऐतिहासिक दिन | नेपाली काँग्रेसका संस्थापक नेता, लोकतान्त्रिक समाजवादका भाष्यकार,महामानव वीपी कोइरालालाई स्मरण गर्ने दिन | ४० वर्ष पहिले विक्रम सम्वत २०३३ पुष १६ गते महामानव वीपी कोइराला अत्यन्त प्रतिकूल राजनीतिक परिस्थितिका बिच पनि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको आव्हान गर्दै भारत प्रवास (बनारस) बाट आफ्ना निकट सर्वोच्च नेता एवम लौह पुरुष गणेशमान सिंह र अन्य सहयोगीका साथ स्वदेश फर्कनु भएको थियो | जुन बेला उहाँ विरुद्ध राष्ट्रद्रोहका अनेकौँ मुद्दा लगाइएको र चौतर्फी खतराको बादल मडारिइरहेको थियो भने लोकतन्त्रको माग गर्ने काँग्रेसका हजारौँ नेता तथा कार्यकर्ता जेलमा जाकिएका थिए |

यस्तो प्रतिकूल अवस्थामा आफ्नो माटो (राष्ट्र) को रक्षार्थ उहाँ जोखिम मोल्दै स्वदेश फर्कनु भएको हामी सबैलाई अवगत नै छ | वीपी कोइराला जस्तो दूरद्रष्टी नेता पाएका कारण आज पनि हामी कांग्रेसजनको शिर ऊँचो बनाउँदै सिङ्गो मुलुकमा मात्र नभएर विदेशमा समेत वीपीका अनुयायी हौँ भन्नुमा गर्व गर्छौँ | भविष्यवेत्ता यिनै महान् नेता वीपी कोइरालाले चार दशक अघि तत्कालीन परिस्थितिमा राष्ट्रभन्दा ठुलो अरू केही छैन भन्दै अन्य सबै निजी जोखिमलाई अझ खतरामा राख्दै मेलमिलापको नीति घोषणा गरी स्वदेश फर्कनु भएको हो |

यस्ता महान् नेताको योगदानको उच्च सम्मान गर्दै आजको यो ऐतिहासिक दिनमा नेपाली काँग्रेसको भातृ संस्थाको रूपमा अमेरिका लगायत संसारका विभिन्न मुलुकमा तिनै महान् समाजवादी नेता वीपी कोइरालाको सिद्धान्तलाई अनुसरण र आत्मसात गर्दै आउनु भएका सबै साथीहरूलाई अझ बढी भाईचारा र आत्मीय सम्बन्ध प्रगाढ़ बनाउँदै अघि बढ्न म यसै विज्ञप्ति मार्फत हार्दिक अपिल गर्दछु | हामी बिचका आपसी मतभेद,बेमेल र बढ्दो विमति हाम्रा लागि जति दुर्भाग्यपूर्ण छ,त्यो भन्दा बढी हामी हाम्रा शुभेच्छुक र सहयोगीहरुलाई निराश बनाइरहेको देखिन्छ | साथीहरू, हाम्रो कमजोरीमा टेकेर सङ्गठन विरोधीहरु हामीहरुबीचको भाईचारा र सहकार्यलाई खलल पु-याउने कार्यमा सक्रिय रहन्छन् |

हाम्रा विरुद्धको चौतर्फी आक्रमण र विभाजित गराई रमाउने यस्ता तत्वहरुलाई निरुत्साहित गर्न हामीले अब ढिलाइ नगरी अझ बढी मेलमिलाप र भाईचारा कायम गरी सन्देश दिनुपर्ने समय आएको छ | यसका लागि आजको यस ऐतिहासिक दिनलाई अवसरका रूपमा लिऔं |

हामी बीचमा कुनै विषय वा असमझदारी भए सङ्गठनको प्रक्रियाभित्र बसेर छलफल गरौँ र प्रक्रियागत छलफलबाट समाधान गर्दै अघि बढौं | सबैले आफूमा भएका कमी कमजोरीको खुल्ला हृदयले आत्मालोचना गरौँ र एकताबद्ध भई आजको यस ऐतिहासिक दिनमा प्रण गरौँ हामी सबै सङ्गठनको बृहत्तर हितका लागि प्रतिबद्ध भएर अघि बढ्नेछौं | समय सधैँ एकनासले अघि बढ्दैन | त्यसैले सबैलाई म यो ऐतिहासिक दिनको महत्वलाई आत्मसात गर्न स्मरण गराउँदछु |

म खुला ह्रदयले सबैसँग हातेमालो गरी अघि बढ्न सधैँ उत्साहित छु | अन्तमा ४१ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र नयाँ वर्ष सन् २०१७ को यस पुनीत अवसरमा म सबैलाई यसै विज्ञप्ति मार्फत सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिसहित हामीहरू बिच आपसी सहमति,सहकार्य,भाईचारा र मेलमिलापका निम्ति हार्दिक आव्हानसहित शुभकामना व्यक्त गर्दछु |
जय नेपाल |

आनन्द विष्ट
सभापति,नेपाली जन सम्पर्क समिति,अमेरिका

प्रतिक्रिया