अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

पोखरामा कविता संग्रह ‘रातो घर’माथि बहस

बिआरटीनेपाल २०७३ पुष १६ गते ८:२६ मा प्रकाशित

बिना तामाङ ‘सुनगाभा’को कविता संग्रह रातो घरमाथि बहस कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बहस केन्द्र नेपाल पोखराको आयोजनामा आयोजित कार्यक्रममा सहभागीहरुले सो कविता संग्रहबारे चर्चा गरेका हुन् ।

कार्यक्रममा टिप्पणी गर्दै साहित्यकार धनप्रसाद तामाङले रातो घर विचारपरक कविता संग्रह रहेको भन्दै कविताहरुमा उत्कृष्ट अन्तरलयको मिसावट रहेको बताएका थिए । उनले श्रष्टाहरुले वर्तमान समयलाई चिन्नु पर्ने बताउदै यो कृतिले अहिलेको समयमाथि न्याय गर्न सकेको धारणा राखे । रातो घर कवितासंग्रहमा अन्तरभाषिक सम्बन्ध र अभिव्यक्ति संग्रह निर्माण भएको उनले बताए । कवयत्री तामाङका कविताहरुमा शिष्ट ढंगमा प्रेम प्रसङ्ग र मानववेदना समेटिइएको उल्लेख गर्दै टिप्पणीकारले आउने युगलाई वहन गर्ने गरि अगाडि बढ्न पनि उनलाई सुझाव दिएका थिए ।

दशकौं अघिबाटै नेपालका कवितामा सांस्कृतिक भाव जोडिएको पाइन्छ भन्दै यसैलाई मध्यनजर गर्दै कवि सुनगाभाले आप्mनो कविता संग्रहमा तामाङ संस्कति र सभ्यता उजागर हुने विभिन्न भौतिक अन्तरवस्तु समेटेको उनको टिप्पणी थियो । उनले नेपालको साहित्य प्रवद्र्धन गर्न सरोकारवाला एकजुट हुनुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै निवन्धकार कुमारी लामाले सबै मुलुकका प्राय कवि लेखकहरु राज्यसत्ताविरुद्ध आवाज उठाउनमा केन्द्रित रहेको औँल्याइन् । लेखकको महत्वपूर्ण कार्य सत्ताले गरेका गलत कामविरुद्ध आवाज उठाउनु रहेको उनको भनाइ थियो । ‘सुनगाभा’का कृतिमा पैसा कमाउन विदेशिएका युवाहरु काठको बाकसमा घर फर्कनु परेको तितो सत्य उजागर गरिएको उनले स्मरण गरिन् । उनले कविताहरु भावनात्मक हुनुका साथै समसामयिक भएको बताइन् । कृतिकार सुनगाभाले सो कार्यक्रममा सहभागीहरुले उनका कवितामाथि गरेको समीक्षाले आफूलाई थप उर्जा मिलेको बताइन् ।

आयोजक संस्था बहस केन्द्र नेपाल पोखराका संयोजक अनुप प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्तम्भकार सावित्री गौतम, साहित्यकारहरु सर्वज्ञ श्रेष्ठ, तारा बराल, अजय अनमोल, सौगात पोख्रेल, असफल गौतम,सरिता पुरी, चन्द्र तामाङ मुस्कान र पत्रकार अमृत सुवेदीले पनि टिप्पणी गरेका थिए । कार्यक्रमको संचालन केन्द्रका सदस्य दीपक पराजुलीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू