अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

कथामाण्डौ

सुशील ताम्राकार २०७३ पुष ११ गते २१:४० मा प्रकाशित

(हालैको काठमाडौँ यात्राका कथाहरुलाई “कथामाण्डौ”को रूपमा क्रमशः: राख्ने जमर्को गर्दैछु | आशा छ यहांहरुले माया दिनु हुने नै छ )

(भाग १)

करिब ३ वर्षको अन्तराल पछि आफ्नो माटो, आफ्नो बाटो नाप्न नोभेम्बर महिनाको पहिलो साता कतार इअरको जहाज चढियो | १३ घन्टाको अनवरत उडान पछि दोहाको हम्मद अन्तर्राष्ट्रिय विमानस्थल पुगियो| काठमाडौको उडान ५ घण्टा पछि भएकोले कतारमा खासै हतार थिएन | खुट्टा जुत्ता तन्काइ संकाइ आराम सँग इअर्पोर्ट भित्रको नजारा हेर्न थालेँ | अति व्यस्त टर्मिनल भवन पुरै “नेपालमय” थियो| जताततै नेपाली अनुहार र व्यवहार छरप्रष्ट देखिन्थ्यो | झुण्डका झुण्ड कालोसुटमा नेपाली आवाजहरू प्रतिध्वनित भैराख्या देखियो |

यत्तिकैमा एक जना सुटेडबुटेड वाकीटकी भिडेका मंगोलियन अनुहारले “तपाईँहरू नेपाली” भनेर नेपाली मै सोधे | सामान्य परिचय भए पछि उहाँ खुल्दै जानु भयो | हाम्रै टोलका ध्याकोय बनियाको (ज्ञान मान बनिया )को मिनरल वाटर कम्पनीमा अफिसर भई १२ वर्ष काम गरेको र साहुले चौधरी ग्रुपलाई कम्पनी बेचे पछि कतार आएको पीडा सुनाए| किन नाफामा चलेको फ्याक्ट्री बेच्नु परेको होला भन्ने उनको गुनासोका अनुत्तरीत् जवाफहरु म पनि खोज्दै थिए र छु पनि | उद्योग धन्दाको झन्झटमा फस्न नचाहेकोले होला शायद क्रिस्टल होटेल अंगिकृत नागरिकहरुलाई बेचे काठमाडौका रैथाने नेवार साहुजीले | अच्छाखासा चलेको, सेमिनार गोष्ठिका लागि पहिलो छनौटको ब्लु स्टार होटेल बन्द गरी खण्ड खण्ड पारी भाँडा उठाएर ढुकुटी भर्ने काम किन गरे तुलाधर साहुले? स्थापित उद्योगधन्दा बिस्थापित गरेर हामी पहिचानको लागि जातीय मोर्चामा मशाल जलाउन गैराख्या छौ हामी| हाम्रो अस्तित्व भनेको हाम्रो व्यवसाय र उद्योग हुन्, हामी कदापि “भाँडे” हैनौं |

खैर सेक्युरिटी अफिसर भाइको गुनासोलाई यस्तै हो के गर्ने भनेर टाले पनि मनमा अनेक तर्कना उठिरहे |

भोक लाग्यो, सजिलो छनौट म्याकडोनाल्ड पर्‍यो नै | काम गर्ने चाहिँ नेपाली थिएनन् | बरु ग्राहक ९० प्रतिशत नेपाली थिए | कोही त्यै टर्मिनल भवनमा काम गर्ने कोही म जस्तै नेपालको बाटो हेर्दै कुर्दै बसेका यात्रु | एकहुल महिलाहरू थिए सँगै, उनीहरूको हाउभाउ र खण्डित कुरा सुन्दा कतारमा घरेलु सहयोगीको रूपमा कामगर्नेहरु देखिन्थे | “अरब” देशमा “हजार” कमाउन हिडेका , बाजारमा बेचिएका नेपाली चेलीहरुको अनेक कारुणिक कथाहरू बेला मौकामा पढिरहेका हुन्छौ हामी | कतै ती नेपाल जान लागेका चेलीहरुका अव्यक्त पीडाहरु त्यस्तै कारुणिक छन् कि, सोध्ने कुरा पनि भएन, अन्दाज मै सीमित गरेँ |

ड्युटी फ्री शपमा पुरै नेपाली | यसो चहारें | अलिकति विदेशी मदिरा लिएर जाने कि भन्ने सल्लाह भो | “ भाइ , ड्युटी फ्रीको एकजनाले कति लिएर जान पाउछ? “ समय समयमा नियम बदलिरहने भएकोले सोधेँ |
“एकजनाले १ लिटर हो सर तर सबले २ लिटर लिएर जान्छन् “ इमान्दार जवाफ पाएँ| नियमानुसार हामी दुईले पाउने २ लिटरको बोतल किनें |

समय घर्किन लागेकोथ्यो | नेपाल जाने प्लेनको गेट तिर गएँ | त्यता नि अधिकांश नेपाली कर्मचारी | बोर्डिंग पास चेक गर्ने देखि व्हिल चेयर सहयोगी समेत नेपाली | कामकाजी भाषा नेपाली | परदेशको हवाई अड्डामा कामकाजी भाषा नेपाली, हामी सानो मुलुकमा खुद्दारीहरु टोलै पिच्छे छुट्टै कामकाजी भाषाको लागि आन्दोलन गर्छौ |

विमान निर्धारित समयमै उड्यो | विमान भरि कतार र कतार वरिपरि अति उष्ण तापमान पसिना बगाएर फर्केका श्रमजीवीहरु थिए | हामी जस्ता कतार भन्दा पर अति चिसोमा पसिना जमाएर फर्किनेहरू र केही गोरा पर्यटकहरु थिए| प्लेन अलि पुरानो अर्थात् प्लेन भित्रको सुविधा अत्याधुनिक थिएन | सिटमा भएको स्क्रिन टच स्क्रिनवाला थिएन | धेरैले चलाउन नै जानेनन् | सोच्छु, ती अशिक्षित सोझा सिधाहरु कति ठगिंदा हुन् परदेशमा| नेपालीले नेपाली नै ठगेका कहानीहरुले बेला बेलामा अखबार तताई रहेको हुन्छ |

काठमाडौँ सम्मको उडान ५ घण्टा चानचुन मिनेट | स्थानीय समय अनुसार बेलुकाको ७.४५ मा अवतरण हुनु पर्नेमा ७.२५ मै विमानले नेपाली माटो स्पर्श गर्‍यो | १०-१५ मिनेटको अन्तरालमा एक पछि अर्को गर्दै मलेसिया तथा गल्फ देशका ४ वटा विमान अवतरण हुने रहेछ | अध्यागमनमा फाराम भर्नेहरुको भीड यातायात व्यवस्था विभागको जस्तो थियो | त्यसपछि अध्यागमनको लाइन |

लगेज ढुवानी गर्ने बेल्ट जम्मा दुई वटा | धन्न दुवै चलेको थियो | एउटा सुटकेस आयो, तँछाडमछाड गर्दै एउटा टिपियो | अर्को आउन १५ मिनेट | एक घण्टामा सबै सुटकेस आयो, सही सलामत |

भन्सारको निगरानी शून्य | सजिलो सँग त्रिभुवन विमानस्थलबाट बाहिर आइयो | घरका मान्यजन देखि प्याराहरु सबै बाहिर प्रतीक्षारत थिए-स्वागत गर्न |

अँ साँच्ची यसपालि सबैभन्दा मीठो स्वागत लोड शेडिंग मुक्त काठमाडौको झिलिमिलीले गर्‍यो | अर्को कुरा भन्ने बिर्सेको, इअर्पोर्ट भित्रको शौचालय साँच्ची नै अन्तर्राष्ट्रिय स्तरको सफा र व्यवस्थित थियो | मन्त्री जीवन बहादुर शाहीको इज्जत चाहिँ राख्या छ है विमानस्थलले |

भग्नावशेषमा अवशेष खोज्दै

(भाग २)

राती ९ बजिसकेकोले होला शायद सडक व्यस्त थिएन| ट्राफिक व्यवस्था अस्तव्यस्त र ध्वस्त थिएन | सजिलै घर पुगियो | तिहारको झिलिमिली बत्ती अझै रंगिन थियो | सहर उहिले जस्तो अँध्यारोमा लुकेको देखिएन|
घर पुग्ना साथ् तातोतातो भात, मासको दाल, पाछै (रायोको साग) तरकारी, सुक्या माछा र गोलभेडाको अचार अप्सनमा आमली(लब्सी)को अचार अनि ठुलो खसीको कवाफ ग्वामग्वाम स्वादका साथ् खाइयो | त्यो स्वादमा नेपाली माटोको सुगन्ध थियो | बिषादी मिसाइएको तरकारी हुन्छ भन्ने सुनिन्थ्यो, शायद स्वदेशी बिषादी पनि यति स्वादिष्ट हुँदो रहेछ|

यात्राको सङ्क्षिप्त वृतान्त पछि थकानले मतान मै झ्याप्प भैहाल्यो| गोलार्धीय भिनताले होला मध्य रात फेरी जागा भए | शिरानीकी रानी मोबाइलमा फेसबुक हेर्दै चियो गर्दै फेरी झ्याप्प |

बिहान ६ नबज्दै चिया पकाउन आफै अघि सरें | नजिकै ग्वारामरी पसल थिएन | सेलरोटी मै चित्त बुझाउनु प्-यो | घरका सबै एकै ठाउँमा पलेटी कसेर चिया सेल रोटी खाँदाको स्वाद टेबलमा लेबल मिलाएर खानुमा कहाँ पाउनु|

चिया सेशन लामो नै रह्यो, बडेमानको स्टिलको दुई गिलास रित्याइयो | ९ बज्दो हो, निद्रा देवीले साउती गर्न थाले|

“हैट, यो नेपाल हो, अम्रिका हैन” भनेर हकारे पछि डरायो बेइमान |

१० नबज्दै भात खाने ट्याम भैसक्यो| लन्च ट्याम पो १२ बजे, भात ट्याम त १० बजे नै हो नि, मखुला ? भन्दै फेरी तातो तातो भात, रहर चनाको हाइब्रिड दाल, काउलीको तरकारी सँग एक थाल भात बजाइयो | आहा कति मीठो काउली, एक टन काउली प्याक गरी अम्रिका नै लगुं जस्तो |

मन थियो एक निद्रा सुतुं तर छिट्टै नै नेपाली ट्यामसंग आफूलाई समायोजन गर्नु जाति हुन्छ भनेर, आराम सारांमलाई मुल्तबीमा राखेर म निस्कें मेरो भत्किएको बस्ती भित्र अवशेष खोज्न | नरायण दाइको गीत गुनगुनाउदै-
“ कहिले काहिं बिर्सिएर आकाश खोज्दै हिड्छु,
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु,
धेरै भयो अल्झेको, यहाँ भीड भित्र,
तिनै भीडमा जिन्दगीको आभास खोज्दै हिड्छु “

फोटोहरूमा धेरै पल्ट देख्दा दुखेको मनलाई सम्झाउदै काष्ठ्मंड़प, हनुमान ढोका तिर सित्तैमा पाएको धुलो रस्वासदन गर्दै लागें | जिन्दगीको सारा हिस्सा र किस्सा समेटिएको मरु सत: ( काष्ठामंड़प ) तार जाली भित्र इट्टाको थुप्रोमा परिणत भैसकेको नि बर्षौं भैसकेछ| त्यो मन्दिर रुपी सत: (पाटी )भित्र बाल्यकालका हजारौँ स्मृति कोरिएका छन्, लाखौँ डोबहरू टाँसीएका छन् | खोज्दै थिएँ, आसपास ( लुकामारी ) खेल्दा लुक्ने चार बुर्जा मुनिका अँध्यारो कोठाहरु| उत्तर पश्चिम कुनाको बुर्जाको एक कोठा अझै शेष रहेछ | (संलग्न फोटो त्यही बुर्जाको हो) | बेलायतको डुरहम युनिभर्सिटिका अनुसन्धानकर्ताहरु केही खोज्दै थिए, मलाई लाग्यो म पनि मेरो बाल्यकालका स्वर्णिम युग खोजुं | तार भित्र जानु हुदैनथ्यो मलाई थाह थियो, तै पनि सुरक्षाकर्मीलाई सोधेँ | जान मिल्दैन भने |

यत्रो अजंगको मन्दिर (पाटी)को नामो निशान मेटिने गरी आएको भूकम्प, नेपाली जनले मनले कसरी सह्यो होला ? आङ्ग सिरिङ्ग भएर आयो | काका प्रेम बा, त्यसै काष्ठ्मंड़प सँगै आफै ढलेका हैनन् रैछ | काष्ठ्मंड़प फेरी पुनर्निमाण होला, तर मेरो काका …..| आँखा सजल भयो|

माजु देग: (सेतो दर्बार अगाडीको सबै भन्दा अग्लो मन्दिर)को , पिरामिडको जग बाहेक केही छैन, गत सालको हिउँदमा जस्तै आउदो हिउँदमा कठैबरा दैबहरु पनि कठांग्रिने भयो नै | कुमारी घर सँगैको दसअवतार देग:को पनि हाल थियो | मरु सत: सँगैको सानो हजाम देग ( सस्तोमा कपाल दारी बनाउने परम्परागत नाइहरुको व्यवसाय गर्ने मन्दिर) समेत धुलो भएको रहेछ|

सेतो दर्बार, गद्दी बैठक त्यति धेरै पुरानो थिएन | दरबारको जग पनि कच्चा नै हुँदो रहेछ, जनताको घर भन्दा पनि कमजोर | सेतो दरबार सँगै जोडिएको नौतले दरबारको ५ तल्ला गायब छ| किम्बदन्ती अनुसार राजा महिन्द्र मल्लले त्यै दरबारको चौथो ( पाँचौ) तल्लाबाट हरेक साँझ जनता को घरमा चुलो बलेको नबलेको यकिन गरी मात्र आफू खाना खान्थे रे | त्यति बेला ४ तले हो कि ५ तल्ले मात्र थियो, पछि पृथ्वी नारायण शाहले (बहादुर शाह) ले थप तल्ला निर्माण गरेको इतिहासमा पढेको याद आयो | पुरै नभत्की पछि थपेको मात्र भत्किनु मात्र संयोग हो कि अरू नै केही, सोचमग्न भएँ |

हनुमान ढोकाको पुरानोखण्डमा जताततै टेको र खट बाँधिएकोले पुरै कुरूप देखिन्थे नै | हनुमान ढोका थाना अघिल्तिर वर्षमा एक दिन मात्र खुला हुने कागेश्वर महादेव मन्दिरमा न काग नै बाँकी रह्यो न महादेव नै | ठुलो दमाह सँगैको कृष्ण मन्दिरको पनि जग बाहेक केही बाँकी रहेन |

टेकोको भरमा अझै जिउँदो ग्वाछी मुग्: गल्लीमा महेन्द्र बौ दाइको म:म: एक प्लेट नखाई निद्रा लाग्दैनथ्यो कुनै बखत | पछिल्लो पटक घर आउँदा नि मौका मिले सम्म म:म: छोडिन | अहिले त्यो पसल छैन, घर टेकोमा “पख” भने पनि बाङ्गिएको छ , चर्किएको छ , महेन्द्र बौ दाइ खोजी गर्दा कतै भेटिएन |

म;म:को आस मारिन, मखन तारिणी बहाल बाहिरको बोसो रहित ५ स्टार म:म; सेकेन्ड च्वाइस थियो | एक प्लेट बिना अचार खाइयो, ढ्याउ गरियो| अचार किन नखाएको भनेर चाहिँ नसोध्नु होला | सोधी हाल्नु भए अर्को भागमा भन्नेछु |

क्रमशः:

प्रतिक्रिया