भेरी अञ्चल प्रहरी कार्यालयले अपराध अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउदै लगिएको जनाएको छ । नागरिक तहबाट आएको सुझावका आधारमा कार्ययोजना नै बनाएर अनुसन्धानलाई प्रभावकारी गराउन लागीएको हो ।
आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातले बताए । उनले नागरिक तहबाट धेरै सुझाव आएकाले सोहि अनुसार कार्ययोजना वनाइएको जानकारी दिदै जनशक्ति र पुर्वाधार निर्माणको माग जनस्तरबाट धेरै उठेको बताए । बाँके, बर्दिया र सुर्खेतमा गरिएको सार्वजनिक सुनुवाईमा जनताको व्यक्त गुनासोका आधारमा कार्ययोजना बनाएर अनुसन्धान प्रक्रियालाई चुस्त पार्न थालिएको बस्न्यातले बताए । उनले पहिलेको तुलना भन्दा पछिल्लो समय नागरिकहरुले सुरक्षाको अनुभूति गरेको दाबी गरे ।
प्रहरीले बाँकेको जमुनाह, कुसुम, जयसपुर, गाभरपुर, अगैया, ढकेरी र सम्झना चोकमा, यसैगरी बर्दियाको राजापुर, मैनापोखर, बाँसगढी, वगनाहा, भुरीगाउँ र कतर्निया र सुर्खेतको छिन्चुमा सार्वजनिक सुनुवाई गरेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेक प्रसाद राई, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेल, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राम बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।