अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

सिक्किममा नेपाली गजलको बहस

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २२:०३ मा प्रकाशित

नेपाली गजलकारहरुले भारतको सिक्किममा गजल सम्बन्धि बहस गर्दै नेपाली गजलको विस्तारमा सिक्किमेली गजलकारहरुलाई अगाडि बढ्न प्रेरित गरेका छन् ।

नेपाली साहित्य परिषद सिक्किमले आईतबार गान्तोकमा सम्पन्न गरेको साहित्यिक कार्यक्रममा बोल्ने क्रममा जनसाहित्यिक मञ्चका केन्द्रीय उपाध्यक्ष प्रा.डा. भीम खतिवडाले नेपाली गजलको प्रभावकारिताका लागि सिक्किमेलीहरुले समेत गतिविधि अगाडि बढाउदै जानुपर्ने बताउनु भयो । उहाँले सृजनालाई भूगोल र राजनीतिको सिमाले छेक्न नसक्ने बताउँदै सवैको मनलाई सृजनशिल बनाएर शान्त, न्याय एवम् समुन्नत समाज निर्माणमा लाग्न सवै क्षेत्रका सर्जकको सहकार्य आवश्यक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा, अनाममण्डलीका संस्थापक अध्यक्ष सुरेश सुवेदीले गजलका बारेमा बोल्दै नेपाली गजललाई प्रभावकारि बनाउँदै एउटा मानक तयार गर्न नेपाल बाहिर रहेका नेपालीभाषी गजलकारहरु समेत एकजुट हुनुपर्ने जनाउनु भयो ।

परिषदको प्रतिभा मिलन कार्यक्रमको ९२ औं श्रृंखलाका अन्तर्गतको सो कार्यक्रममा प्रमुख अतिथि खतिवडा, अतिथि सुवेदीका साथै नेपालका गजलकारहरु भूपेन्द्र तिम्सिना, लोकेन्द्र बञ्जारा, विष्णुदिप संकल्प, घनश्याम पथिक, कुमार समदर्शी र कृष्ण घिमिरेले गजल वाचन गर्नुभयो ।

सिक्किमका सर्जकहरु जिविका खतिवडा अश्रु, डा. शान्ति क्षेत्री, अमर बानिया ‘लोहोरो’, विमल काफ्ले, राजु गिरी, एमएस खान, भीम प्रधान, नविन लामिछाने, थमन नौवाल, डीवीचन्द्र सुब्बा, अर्जुन बेहोसी, शेरबहादुर कार्की, मोहन गौतम र राजन शिवाकोटीले रचना वाचन गर्नुभयो ।

सो अवसरमा अमर बानियाको शब्दको गीति एल्बम ‘आन्तरिक अनुगुञ्जन’ र ‘तीन थुम्का’ पुस्तकको लोकार्पण समेत गरिएको छ ।
नेपाली टोलीले गजल कार्यक्रमको संयोजन गर्ने सिक्किमेली गजलकार जिविका खतिवडा अश्रुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । आयोजकले नेपाली टोलीलाई कदरपत्र प्रदान गर्यो ।

नेपाली टोलीले सिक्किमस्थित चारधाम, बुद्धपार्क, साम्डुप्चे, साइमन्दिर, तिमी टि गार्डेन, वाघथान फल्स, गणेश टक क्षेत्रको अवलोकन गर्दै साहित्य सिर्जना अंकुरित समेत गराउने सिक्किमको पर्यटकीय प्रभावकारिताप्रति प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू