अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 10:46

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको मानक नेपाली वर्णविन्यास र लेख्य रूप सम्बन्धी अवधारणा पत्र

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:०३ मा प्रकाशित

भाषाको वर्णविन्यास आम सरोकारका साथै शैक्षिक–प्राज्ञिक विषयसमेत भएको र नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेका सन्दर्भमा नेपाली भाषाको वर्णविन्यास र लिपिचिह्नका सम्बन्धमा विगत केही समयदेखि बल्झाइएका विवाद तथा अन्योललाई दृष्टिगत गरी त्रिवि, नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान २०७३ का अवधारणालाई केन्द्रमा राखेर मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका मानक नेपाली वर्णविन्यास र लेख्यरूपसम्बन्धी अवधारणा निम्नलिखित बुँदामा प्रस्तुत गरिएको छ :
१. नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी २०६७ का नाममा गरिएका विवादास्पद निर्णयहरूप्रति पूर्णतः विमति जनाउँदै नेपाली बृहत् शब्दकोश (२०७२) मा प्रयुक्त विवादित वर्णविन्यास, लिपिचिह्न र प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएको हुँदा नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल रद्द गरी २०५८ को संस्करणलाई निरन्तरता दिनुपर्ने,

२. नेपाल सरकार शिक्षा मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय गरी पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) र सोही आधारमा निर्मित शिक्षणनिर्देशिका, प्रकाशनशैली र पाठ्यपुस्तकमा प्रयुक्त वर्णविन्यास तथा लिपिचिह्नप्रति पूर्ण असहमति जनाउँदै उक्त परिपत्रपछि विभिन्न तहका विषय समितिबाट जारी गरिएका शिक्षणनिर्देशिका, प्रकाशनशैली र पाठ्यपुस्तकमा प्रस्तुत गरिएका विवादित वर्णविन्यास र लिपिचिह्नले नेपाली भाषामा अराजकता निम्त्याएकोे हुँदा तिनलाई तत्काल खारेज गर्नुपर्ने,

३. त्रिवि अनिवार्य नेपाली विषय स्थायी समितिका नाममा साझा प्रकाशनबाट प्रकाशित अनिवार्य नेपाली शिक्षणनिर्देशिका (२०६६) र उच्च माध्यमिक शिक्षा परिषद्को लोगोमा केही व्यक्तिका नाममा साझा प्रकाशनबाट प्रकाशित सबैको नेपाली (२०६७) मा प्रयुक्त वर्णविन्यास र लेख्यरूपले आम विद्यार्थी र शिक्षकलाई दिग्भ्रमित तुल्याएको हुँदा तिनलाई तत्काल खारेज गर्नुपर्ने,

४. कथित चन्द्रगढी घोषणापत्रलगायतमा आधारित रही बनाइएका नेपाली वर्णविन्यास तथा लिपिचिह्नसम्बन्धी विवादास्पद नियमप्रति पूर्णतः असहमति प्रकट गर्दै विभिन्न संस्थाबाट देवनागरी लिपिको अस्तित्वलाई नै समाप्त पार्ने गरी गरिएका संयुक्त वर्णको खुट्टा काट्ने निर्णय मानक भाषा निर्माणका लागि घातक रहेको हुँदा त्यसलाई कुनै पनि हालतमा प्रचलनमा ल्याउन नमिल्ने,

५. ह्रस्वदीर्घ र वर्णका कारण अर्थमा फरक आउने श्रुतिसमभिन्नार्थक (फुल—फुल) शब्दलाई ह्रस्व मात्र लेख्ने र अनेकार्थी शब्दका रूपमा प्रयोग गर्ने तथाकथित निर्णयले भाषाको सौन्दर्य समाप्त पार्ने हुँदा त्यस्तो प्रयोग कदापि मान्य नहुने,

६. वर्ण, अक्षर वा लिपिचिह्न गणना गरी पदयोग र पदवियोग गर्ने निर्णय पूर्णतः अमान्य हुने र नामयोगी, द्वित्व, संयुक्त क्रिया र व्यक्तिनामको थरभन्दा अगि आउने सबै शब्द पदवियोग गर्ने निर्णय सरासर गलत रहेको हुँदा कदापि स्वीकार गर्न नसकिने,

७. एकात्मक अर्थबोधक रूढ शब्द (जनकपुर, आइतबार) तथा समस्त शब्द (विश्वविद्यालय, दिदीबहिनी) लाई पदवियोग गर्ने भनी गरिएको निर्णय कदापि स्वीकार्य नहुने,

८. प्रचलित परम्परामा संशोधन–परिमार्जन गर्नुपरेमा आम प्रयोक्ता र सरोकारवालासँग व्यापक छलफल गरी निष्कर्षमा पुगेर मात्र कार्यान्वयन गर्नुपर्ने,

९. हाल विद्यमान नेपाली वर्णविन्यास र देवनागरी लिपिचिह्नसम्बन्धी विवादास्पद निर्णयहरूलाई खारेज गर्ने, आम प्रयोक्ता र सरोकारवालासँग व्यापक छलफल गरी साझा मानक पहिल्याउने र प्रचलनमा रहेका कतिपय लेख्य प्रयोगलाई वैकल्पिक रूपमा प्रयोग गर्ने ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष

प्रतिक्रिया