स्थानीय चुनावको पूर्वसन्ध्यामा नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी फेरिन लागेको छ । आईजीपीको दौडमा रहेका चारैजना प्रतिस्पर्धी २०४९ चैत ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका थिए । २०६२ जेठ २२ मा प्रहरी नायब उपरीक्षक (डीएसपी)मा पनि सँगै बढुवा भएका हुन् । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विश्वराज पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा हुनुहुन्थ्यो । त्यो बेला धिरजप्रताप सिंहलाई ब्याचको पहिलो नम्बर मानिन्थ्यो । तर, एसएसपी बढुवादेखि पहिलोको विशेषण पोखरेलको नाममा सर्यो।
डिआईजी बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पार्न सफल हुनुभयो । सडक दुर्घटनामा डिआईजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेलको वैशाख २०७६ मा डिआईजीमा एक्लो पदोन्नति भयो ।१५ मंसिर २०७७ मा उहाँलाई दरबन्दी थपेर एआईजीमा बढुवा गरियो । अब हुने आईजीपीको प्रतिस्पर्धामा चार एआइजी छन् । कसैको निजी नभई विभागीय स्वार्थमा काम गर्ने सङ्गठन प्रमुख नियुक्त हुनुपर्ने पूर्व डिआईजी हेमन्त मल्लको राय छ ।
विश्वराज पोखरेल सिनियर भएकाले स्वाभाविक दाबेदार हुनुभयो । उहाँपछिका सिनियर सहकुल थापा रहनुभएको छ । हालै सरकारले पत्याएर एआईजीमा बढुवा भएकाले धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई पनि प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ ।
तर, अहिले प्रहरी नियमावलीमा उल्लेख भएका दफालाइ नजराअन्दाज गर्दै सत्ताको आडमा राम्रा भन्दा पनि हाम्रा मान्छेलाई नेतृत्व सुम्पने चलन छ । राजनीतिक स्वार्थमा नियुक्त सङ्गठन प्रमुखले विभागीय साख बढाउन नसक्ने पुर्व डिआइजी मल्लको भनाइ छ । आजभन्दा तीन दशकअघि प्रहरी संगठनमा राजनीति हाबी गराएको कलंक बोकेका शेरबहादुर देउवा अहिले संयोगले मुलुकको कार्यकारी हुनुहुन्छ । यो उहाँका लागि अर्को अग्निपरीक्षा हो । प्रहरीलाई प्रहरीकै हैसियतमा रहन दिएमात्र त्यो संगठन जनताको मन, मुटु र मस्तिष्कमा प्रियकर हुने निश्चित छ ।