अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

युरोपेली सङ्घले पनि चिनियाँ विद्युतीय गाडीको आयातमा कर बढाउने

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:५३ मा प्रकाशित

अमेरिकापछि अब युरोपेली सङ्घ (ईयू) ले पनि चिनियाँ विद्युतीय गाडीको आयातमा कर बढाउने भएको छ । चिनियाँ विद्युतीय गाडीमा कति आयात शुल्क बढाउने भन्ने निर्णय आउँदो हप्ता हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।यसअघि अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा सय प्रतिशतसम्म कर लगाउने निर्णय गरिसकेको छ । अब युरोपेली सङ्घले पनि कर बढाउने घोषणा गरेपछि चीन र युरोपेली सङ्घबीच विवाद बढ्ने सम्भावना रहेको छ । चीन सरकारले अनुदान दिएपछि चिनियाँ विद्युतीय गाडीले युरोप र अमेरिकामा बजार तताइरहेका छन् ।

नयाँ–नयाँ प्रविधिका सस्ता चिनियाँ कारका कारण आफ्नो देशका उत्पादन समस्यामा परेको, रोजगारीमा असर परेको र समग्र अर्थतन्त्रमा नै समस्या देखिएको भन्दै अमेरिकाले चिनियाँ विद्युतीय गाडी, ब्याट्री, सोलार प्यानल लगायतमा कर बढाएको थियो ।अहिले युरोपेली सङ्घले पनि यस्तै कारण देखाएको छ । युरोपेली सङ्घले चिनियाँ विद्युतीय गाडीमा कर बढाएमा चीनले पनि युरोपेली वस्तुको शुल्क बढाउने तयारी गरेपछि दुवै पक्षबीच व्यापार युद्ध बढ्ने देखिएको बेलायतको पत्रिका गार्जियनले जनाएको छ । चीनले शुरुमा युरोपेली दुग्धजन्य पदार्थ र रक्सीमा कर बढाएर जवाफ दिने सङ्केत गरेको छ ।

गएको महिना पेरिसमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले विश्वले चीनको अधिक उत्पादनलाई धान्न नसक्ने बताउनुभएको थियो ।अहिले युरोपेली देशमा बनेका विद्युतीय गाडीभन्दा चीनबाट जाने गाडीको मूल्य झन्डै ५० प्रतिशतले कम छ । तर चीनले भने आफ्नो अटोमोबाइल क्षेत्रलाई अनुदान नदिएको र यदि कुनै राज्यले अनुदान दिएको भए पनि यसले पश्चिमका देशहरूलाई हरित ऊर्जा प्रयोगको लक्ष्य भेटाउन सहयोग नै गर्ने बताएको छ । विद्युतीय गाडी र ब्याट्रीको उत्पादनको परिमाण हेर्दा चीनले हरित व्यापारको साम्राज्य फैलाउन खोजेको पुष्टि हुने युरोपेली विश्लेषकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू