अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:३० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताउनुभयो । उहाँले अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानून पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिको लागि नविनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको जिकिर गर्नुभयो । निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिव एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताउनुभयो । उहाँले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्नसके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभुत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेको बताउनुभयो । उहाँले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र बिस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू